काठमाडौं । नयाँ शक्ति पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको योजना अनुसार आफ्नो पार्टीलाई चुनाव चिन्हबाट बन्चित आरोप लगाएका छन् ।

Advertisement

सोमवार काठमाडौंको अल्फाबिटा कम्प्लेक्समा केही सञ्चारकर्मी सहितको अनौपचारिक छलफलमा डा. भट्टराईले भने, ‘प्रधानमन्त्री आफैंले र उहाँका नजिकका व्यक्तिले यस्तो गरेको आशंका लागेको छ ।’

डा.भट्टराईको आशंकालाई प्रष्ट पार्दै उनीसँगै रहेका नयाँ शक्तिका नेता डम्बर खतिवडाले नयाँ शक्तिको चुनाव चिन्ह नभएपछि नयाँ शक्ति समर्थित मतदाताले माओवादीलाई भोट हाल्ने सोचेर नियोजित रुपमा चुनाव चिन्हबाट बन्चित गर्न खोजिएको बताए ।

आफूहरुले भेट्दा प्रधानमन्त्रीले थाहा नपाएको भन्दै अध्यादेशमार्फत चुनाव चिन्ह टुंगो लगाउने भने पनि एक सातासम्म अध्यायदेश नल्याउनुले आफ्नो आशंका पुष्टि हुँदै गएको उनले बताए । उनले भने-प्रधानमन्त्रीले थाहा छैन भनेपछि अध्यादेश ल्याउनुस भनेँ । शेरबहादुरजीलाई भेट्दा लु लु भइहाल्छ भन्नुभयो ।’

खतिवडाले चुनाव चिन्ह बिना नयाँ शक्ति निर्वाचन नलड्ने बताए ।

तर, यसबीचमा गठबन्धन गरेर कुनै दलको चनाव चिन्ह लिएर भने पनि चुनाव लड्ने सम्भावना भने भट्टराईले स्वीकार गरे । उनले भने-हामी सबै दल चुनावमा आउने वातावरण बनोस भन्ने चाहान्छौं र त्यसका लागि संविधान संशोधन हुनुपर्छ । चुनाव चिन्ह त मोहन वैद्यजीलाई पनि चाहिएको छ ।’

उनले संघीय समाजवादी फोरम लगायत बिभिन्न दलसँग पार्टी एकताका लागि छलफल भइरहेको बताए ।

नयाँ शक्ति पार्टी सबै जिल्लामा दर्ता भएको र ७४४ ओटै स्थानीय तहमा संरचना बिस्तार भइसकेकाले चुनाव मार्फत संगठन बिस्तार गर्ने भट्टराईले बताए ।

अर्को एक प्रसंगमा पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले माओवादी छाडेर नयाँ शक्ति गठन गर्नुको औचित्य पुष्टि गर्न खोजे । उनले कांग्रेस, एमाले र माओवादी जस्ता शक्तिबाट आर्थिक सम्बृद्धि, विकास र परिवर्तन सम्भव नरहेको दावी गरे ।

भट्टराईले भने, ‘हामीलाई थाहा छ, अहिले चुनाव हुँदा कांग्रेस एमाले मध्येबाट पहिलो दोस्रो हुने हुन् । तर, के यी शक्तिबाट परिवर्तन सम्भव छ ? जनताले बुझ्नुपर्छ ।’

नेपालको तीब्र विकासका लागि जोखिम मोलेर भारतसँग विप्पा सम्झौता गरेको र त्यसमा कुनै पश्चाताप नरहेको भट्टराईले बताए । भारतको बिरोध गरेर कोही राष्ट्रवादी देखिन खोजे पनि नेपालको विकासका लागि भारतलाई विश्वासमा लिनैपर्ने उनले बताए ।

भट्टराईले भने, ‘ओलीजीले भारतको बिरोध गरेर राष्ट्रवादी बन्दै नेपालीको भोट ल्याएर एउटा चुनाव त जित्नु होला तर लगानी कहाँबाट आउँछ ? पहिले हामी आर्थिक विकास गरौं । यहाँ कोही देशभक्त र कोही राष्ट्रघाती भन्ने छैन । सबै नेपाल्ी देशभक्त हुन् ।’

भारतले नेपालमा ३ पटक नाकाबन्दी लगाएको र आफूले झेलेको भन्दै पछिल्लो नाकाबन्दीको बिरोध गर्नेहरूले पहिलेका नाकाबन्दीको समर्थन गरेको बताए । उनले भने-२०२७ सालमा पनि नाकाबन्दी लगाएकै हो । २०४५ सालमा नाकाबन्दी नगरेको भए सायद पञ्चायत त्यति चाँडै ढल्ने थिएन । यहाँ आफूलाई फाइदा हुँदा नाकाबन्दीको समर्थन गर्ने र आफूलाई फाइदा नहुने बिरोध गर्ने राष्ट्रवादको काम छैन ।’- अनलाइनखवर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!