कोलम्बो, ४ चैत । बौद्ध र मुस्लिम धर्मावलम्बीबीच द्वन्द्व शुरु भएपछि गत मार्च ६ तारिखदेखि श्रीलंकामा लगाइएको संकटकाल हटेको छ ।
श्रीलंकाली राष्ट्रपति मैथ्रिपाला सिरिसेनाले आइतबार राष्ट्रव्यापी संकटकाल हटाइएको जानकारी दिएका हुन् ।
‘सार्वजनिक सुरक्षास्थितिको मूल्यांकनपछि मैले मध्यरातदेखि संकटकाल हटाउने निर्देशन दिएको छु,’ सिरिसेनाले आफ्नो ट्वीटरमा लेखेका छन् ।
क्यान्डीमा बौद्ध र मुस्लिम धर्मावलम्बीबीच साम्प्रदायीक द्वन्द्वबाट शुरु भएपछि त्यो देशको अन्य भागहरुमा पनि फैलिएको थियो ।
यसक्रममा २ जनाको मृत्यु भएको थियो भने मुस्लिम समुदायका सयौँ घरहरु तोडफोड गरिनुका साथै २० भन्दा बढी मस्जिदमा क्षति पुर्याएको मिडिया रिपोर्टहरुमा उल्लेख गरिएो छ ।
दुई समुदायबीच पछिल्लो समय तनाव बढ्दो छ । कट्टरपन्थी बौद्ध धर्मावलम्बीले मुस्लिम समुदायमा जबर्जस्ती धर्मपरिर्वन गर्न लगाएको र बौद्ध धर्मको प्राचिन स्थलहरुमा क्षति पुर्याएको आरोप लगाउने गरेका छन् ।