काठमाडौँ, १ चैत । अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपालले अब चार वर्षसम्मका लागि पहिलो पटक एकदिवसीय मान्यता पाउने पक्का भएको छ ।
जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटअन्तर्गत नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हराएसँगै नेदरल्याण्ड्सले पनि हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एकदिवसीय मान्यता पाउने पक्का भएको हो ।
नेपालले अब सो मान्यतासँगै आइसिसीले खेलाउने विभिन्न प्रतियोगितामा सहभागिता जनाउन पाउने छ भने आइसिसीले अहिले गर्दै आएको सहयोगमा वृद्धि हुनेछ । सो हारसँगै पपुवा न्यूगिनीको एकदिवसीय मान्यता भने खोसिएको छ ।
विश्वकप छनोट खेलेका पाँच एशोसिएट देशमध्ये तीनले एक दिवसीय मान्यता पाउनेछन् भने दुई टिम डिभिजन टूमा घटुवा हुनेछन् ।
सुपर सिक्समा पुगेका स्कटल्याण्ड र यूएईले एकदिवसीय मान्यता पाइसकेका छन् । बिहीबार नेपालले पनि पक्का गरेको छ ।
पपुवा न्यूगिनी र हङकङले भने एकदिवसीय मान्यता गुमाएका छन् र डिभिजन टूमा घटूवा भएका छन् ।