काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थल विस्तार कार्यलाई चार खण्डमा बाँडेर अघि बढाउने भएको छ । यसका लागि तीन वटा टेण्डर खुलिसकेको छ भने बाँकी एउटा टेन्डर चाँडै खोल्ने तयारी छ ।

Advertisement

प्राधिकरणले रनवे, पार्किङ, टर्मिनल भवन तथा कन्भेयर बेल्टको विस्तारका लागि काम सुरु गरेको हो । गत मार्च ५ मा खोलिएको तीन वटा टेण्डरको म्याद अप्रिल १५ सम्म रहेको छ ।

प्राधिकरणले रन वे विस्तारको लागि खोलेको टेण्डरलाई एनसीबी ०१ नाम दिएको छ । त्यस्तै, विमानस्थलमा रहेका भवनको विस्तारको लागि खोलिएको टेण्डरलाई एनसीबी ०२ भनिएको छ । एनसीबी ०३ अन्तर्गत वाटर सिस्टम, जेनेरेटेर हाउस र सुरुङको निर्माणलाई समेटिएको छ ।

यसअघि स्पेनिस कम्पनी सान्जोसे कन्स्ट्रक्टोराले विमानस्थल विस्तारको ठेक्का पाएको थियो । तर, समयमै काम सम्पन्न नगरेपछि प्राधिकरणले यसको ठेक्का नै रद्द गरिदिएको थियो । सन् २०१६ भित्रमा सान्जोसेले ८२ प्रतिशत काम सम्पन्न गरिसक्नुपर्नेमा १७.४ प्रतिशत काम मात्रै सम्पन्न गरेकाले प्राधिकरणले ठेक्का रद्द गरेको हो ।

यस आयोजनामा एसियाली विकास बैंकको सहयोग छ । कुल ८० लाख अमेरिकी डलर बराबरको यो सहयोगमा ७० लाख ऋण र १० लाख अनुदानका रुपमा उपलब्ध गराइएको छ ।

खाल्डो पुर्न डिजाइन बन्दै

रनवे विस्तार अन्तर्गत खाल्डो पुर्नका लागि खोलिनुपर्ने टेण्डर भने हालसम्म खुल्न सकेको छैन । यसका लागि प्राधिकरणको टोलीले डिजाइन तयार गर्दै छ ।

प्राधिकरणका  प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले भने, ‘खाल्डो पुर्नका लागि खोलिनुपर्ने टेण्डर अब एकदेखि डेढ महिनाभित्र खोल्छौ । अहिले त्यसको डिजाइन तयार गर्दै छौं । साथै फिडिङ माथि एप्रोन (विमान राख्ने स्थान) बनाउने वा नबनाउने भन्ने अध्ययन पनि गर्दै छौं ।’

सुरुमा  सान्जोसेले कम्पनीलाई पशुपति क्षेत्रको माटो निकाल्न दिने भनेको थियो । तर, पछि भने पशुपतिक्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृत भएको भन्दै त्यहाँबाट माटो निकाल्न नदिने कुरा बाहिर आयो ।

माटो निकाल्न नपाएपछि के गरी खाडल पुर्ने भन्नेमा कम्पनी अन्यौलमा परेको थियो । कम्पनीले पशुपतिक्षेत्र बाहिरबाट माटो नल्याउने अडान राख्यो । प्राधिकरण भने बाहिरबाट भए पनि माटो ल्याएर खाडल पुर्नुपर्ने अडानमा थियो ।

यिनै विवाद र सान्जेनको लापरवाहीका कारण विमानस्थल विस्तारको काम समयमै हुन सकेको थिएन । सान्जेनले भने नाकाबन्दी र भूकम्पका कारण समयमै काम सम्पन्न गर्न नसकेको बताउँदै आएको थियो । अनलाइनखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!