काठमाडौं ।  पार्टी गठनको करिब २ वर्ष पुग्नै लाग्दा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) यतिबेला ८औं महाधिवेशनको तयारीमा जुटेको छ । महाधिवेशनका लागि जनयुद्ध दिवसको दिन तय गरिएको छ ।

दीपेश शाहीले रातोपाटीमा लेखेको समाचार अनुसार १० वर्षे जनयुद्धको महत्वपुर्ण दिन मानिने फागुन १ गते काठमाडौंको टुँडिखेलमा महाधिवेशनको उद्घाटन गर्ने तयारी गरेको माओवादीले जनयुद्धको आधारभूममि मानिने रोल्पाको थवाङमा बन्दसत्र गर्ने भएको छ ।

Advertisement

त्यसका लागि माओवादीले रोल्पाको थवाङमा करिब एक हजार जनाको क्षमता भएको हलको निर्माण कार्य करिब अन्तिम चरणमा पुर्याएको छ । यससँगै कार्यकर्तालाई परिचालन गरी देशै भरी वालपेन्टिङ, प्रचा र पम्पलेट वितरण गर्ने तथा टास्ने लगायत विभिन्न प्रचार प्रसारका काम भैरहेको सो पार्टीले जनाएको छ माघ १८ गते बसेको केन्द्रीय समिति बैठकले महाधिवेशन व्यवस्थापनका लागि जिम्मेवारी पनि बाँडफाँड गरेको छ ।

कसको जिम्मा के ?
–पार्टीको केन्द्रिय समिति बैठकले उद्घाटन समारोहको व्यवस्थापनको जिम्मेवारी पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई दिएको छ ।

–बन्दसत्रको व्यवस्थापनको जिम्मेवारी पोलिटब्युरो सदस्य सन्तोष बुढामगरलाई दिएको छ ।

–प्रचारप्रसारको जिम्मेवारी पोलिटब्युरो सदस्य अनिल शर्माले पाएका छन् ।

–व्यवस्थापन समिति भित्र विभिन्न उपसमिति बनाएर केन्द्रीय सदस्यलाई जिम्मेवारी बाँडफाड गरिएको नेताहरुले बताएका छन् ।


थवाङमा बन्यो सहिद स्मृती हल

–पार्टीेले महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि रोल्पाको थवाङमा एक हजारभन्दा बढी मान्छे अट्ने क्षमता रहेको हल निर्माण गरेको छ । हल निर्माणका लागि करिब रु दुई करोड भन्दा बढी लागत लागेको बताइएको छ । भवन निर्माणको ‘फिनिसिङ’को काम वाँकी रहेको र माघ महिनाभित्र पुरा हुने सो पार्टीका नेताहरुले बताएका छन् ।

–सहिद स्मृति हल नामाकरण गरिएको उक्त हलको लम्बाइ एकसय ६५ फिट र चौडाइ ४० फिट छ । हल निर्माणका लागि हालसम्म राप्तीका पाँच जिल्लाहरुका साथै बाँके, बर्दिया, सुर्खेत, नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, बागलुङ, धादिङ र गोरखा लगायतका जिल्लाबाट करिब २५० भन्दा बढी पार्टीका नेता तथा कार्यकर्ताले श्रमदान गरेको सो पार्टीको भनाई छ ।

–उनीहरुले प्रतिव्यक्ति पाँचदेखि १० दिनसम्म श्रमदान गरेको निर्माण कार्यको जिम्मेवारी पाएका केन्द्रीय सदस्य नन्दबहादुर बुढामगर (विजय)ले जानकारी दिए । गाह्रो लगाउने र पक्कि पलास्टरको लागि भने स्थानीय ८ जना ठेकेदारलाई जिम्मा दिइएको उनले बताए ।

–महाधिवेशनका क्रममा पार्टी स्थायी समिति र पोलिटब्युरो बैठकको प्रयोजनका लागि छुट्टै तीनकोठे भवन र महिला तथा पुरुषका लागि छुट्टाछुट्टै १२ कोठे शौचालय समेत निर्माण गरिएको नन्दबहादुर बुढामगरले बताए ।

–हल निर्माणका लागि पार्टी केन्द्रले सिधै आर्थिक सहयोग उपलब्ध गराउनुका साथै नेता तथा कार्यकर्ताबाट श्रमदान पनि गराएको उनले बताए ।

–थवाङको वीर बलभद्र माध्यमिक विद्यालयको हाताभित्र निर्माण गरिएको सो हल महाधिवेशन प्रयोजनपश्चात संरक्षण र व्यवस्थापनको जिम्मेवारीसहित सोही विद्यालयलाई नै हस्तान्तरण गरिने बताइएको छ । त्यसका साथै अन्य कुनै पनि सही प्रयोजनका लागि जो कसैले पनि उक्त भवन प्रयोग गर्न सक्ने पार्टी स्थाई समिति सदस्य धर्मेन्द्र वास्तोलाले बताए ।

–महाधिवेशन पश्चात हल निर्माणको कुल लागतको हिसाब अन्य खर्चको हिसाब सँगै सार्वजनिक गर्ने पनि वास्तोलाले जानकारी दिए ।

बन्दसत्र रोल्पामा नै किन ?

काठमाडौंमा उद्घाटन गरेर बन्दसत्र गर्न रोल्पा नै किन जानु पर्यो त ?

पार्टी स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोला भन्छन्

–एकीकृत क्रान्तिको मुल मर्म अनुसार गाउँ र सहरलाई जोड्ने प्रतिविम्बका रुपमा हामीले शहरमा उद्घाटन र गाउँमा बन्दसत्र गर्न लागेका हौँ । यो एकीकृत जनक्रान्तिको अभिव्यक्ति हो ।

–नेपाको ठुलो जनसंख्या ग्रामीण क्षेत्रमा छ । पहिले हामीेले जनयुद्ध सुरु गर्दाखेरी २० प्रतिशत जनता सहरमा वाँकी ८० प्रतिशत गाउँमा बस्थ्यो । अहिले ३५ प्रतिशत जनता सहरमा बस्छ र वाँकी ६५ प्रतिशत जनसंख्या गाउँमा नै बस्छ ।
–त्यो गाउँमा बस्ने जनसंख्यालाई पनि हाम्रो समस्या समाधान भएको छैन भनेर अधिकारप्रति सचेत बनाउनु पर्छ । र राष्ट्रिय एकताका लागि गाउँ र सहरलाई जोडेर राजनीतिक क्रान्तिको गति पैदा गर्नुपर्छ । त्यसपछि गाउँ र सहर मिलेर दलाल पुँजीवादका विरुद्ध राजनीतिक हमला गर्नुपर्छ भनेर गाउँ र सहरलाई एकअर्कामा जोड्न खोजेका हौँ ।

–यसरी हामीले रोल्पामा जनतासँग बसेर निर्णय गर्नु दलाल र राष्ट्रघातीका लागि चुनौती हो भने, नेपाली जनताका लागि एकताको प्रतिविम्ब हो । हामीले खास यही राजनीतिक सन्देश दिनका लागि रोल्पा रोजेका हौँ ।

प्रतिनिधि र पर्यवेक्षक

–पार्टीको गत माघ १८ गते बसेको केन्द्रीय समितिको बैठकमा पेश गरिएको सदस्य संख्याका आधारमा माओवादीले रोल्पा जाने प्रतिनिधि र पर्यवेक्षक छान्ने भएको छ । सोही आधारमा प्रतिनिधि पर्यवेक्षक छान्दा करिब एक हजारको हाराहारीमा नेता कार्यकर्ता रोल्पा पुग्ने अनुमान सो पार्टीले गरेको छ ।

–प्रतिनिधि र पर्यवेक्षक छनौटका लागि पार्टीले सदस्य संख्याका आधारमा प्रत्येक जिल्लाबाट १ जनादेखि १० जनासम्मलाई रोल्पा लैजाने भएको छ ।

–न्युनतम सदस्य संख्या भएको जिल्लाबाट १ जना र अत्यधिक जति भएपनि १० जनासम्म प्रतिनिधिाई मात्रै माओवादीले महाधिवेशनमा भाग लिन थवाङ लैजाने छ । यो सँगै पार्टीले सदस्यता दर्ता र नविकरणलाई पनि रोकेको पोलीटब्युरो सदस्य भरत बमले बताए ।

को–को हुनेछन् उद्घाटन् सत्रका अतिथि ?

–माओवादीले महाधिवेशनमा संसदमा रहेका कुनै पनि दलका नेतालाई उद्घाटन समारोहको अतिथिमा बोलाउने छैन । नेता धर्मेन्द्र बास्तोलाले ‘एमाले र माओवादी केन्द्र दलाल सत्ताका प्रतिनिधि भएका कारण महाधिवेशनमा नबोलाउने र कंग्रेससँग वर्ग नमिलेका कारण नबोलाउने’ बताए । विप्लव माओवादीले माघ २१ मा मात्र काठमाडौंमा सरकार विरुद्ध प्रर्दशन गरेको थियो ।

–उद्घाटन समारोहमा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’, मसालका महामन्त्री मोहन विक्रम सिंह र कम्युनिष्ट नेता कृष्णदास श्रेष्ठलाई भने बोलाउने बताइएको छ ।

–अन्तर्राष्ट्र्रिय भाइचारा संगठनहरुलाई औपचारिक लिखित निम्तो पठाइएको भएपनि अहिलेसम्म कुनै देशका अन्तर्राष्ट्रिय प्रतिनिधि आउने निश्चित नभएको नेताहरुले बताएका छन् । उनले धेरै देशबाट लिखित सन्देश आउने सम्भावना रहेको पनि बताए ।

के आउने छ रोल्पाबाट सन्देश ?

–वैद्यसँग डिभोर्स गरेर नयाँ पार्टी गठन गरेसँगै विप्लबको ‘राजनीतिक छवि’ नै बन्दुक र युद्धसँग जोडेर हेर्ने गरिएको छ । अझ बेला–बेलामा आफै ‘एक्सन’ मा उत्रने विप्लव माओवादीको कार्यशैलीका कारण महाधिवेशनपछि कस्तो राजनीतिक लाइन समात्ने हुन् भन्ने चासो बढेको देखिन्छ ।

–कतिपय उनकै कार्यकर्ता पनि पार्टीले अब के गर्छ ? भन्ने प्रश्नको जवाफ पर्खिरहेका छन् । त्यसकारण महाधिवेशनबाट पारित हुने योजनालाई कार्यकर्ताले चासोका साथ हेर्नेछन् ।

–विप्लव माओवादीका केन्द्रीय तहका नेता र कार्यकर्ता ‘विप्लबले गर्ने भनेको एकीकृत जनक्रान्ति सशस्त्र हो या निशस्त्र हो, त्यो थवाङको बन्दसत्रले निर्धारण गर्ने’ ठान्दछन् । तर, थवाङबाट विप्लबले सशस्त्र या निशस्त्र कुनै पनि क्रान्तिको स्वरुप बारे निश्कर्ष दिने छैनन् ।

–बरु, त्यो बन्दसत्रबाट विप्लबले लेखेको राजनीतिक दस्तावेज ‘एकीकृत जनक्रान्ति’ को सैद्धान्तिकीकरण गर्नेछन् । ‘कस्तो क्रान्ति गर्ने भनेर त हामीले पहिले नै भनि सकेका छौँ’ स्थायी समिति सदस्य बास्तोलाले रातोपाटीसँग भने ‘देशमा हत्या हिंसा होइन राजनीतिक क्रान्तिको आवश्यक्ता परेको छ, हामीले गर्ने भनेको त्यही राजनीतिक क्रान्ति हो ।’

–वास्तोलाका अनुसार महाधिवेशनमा क्रान्तिको स्वरुप भन्दा पनि सिद्धान्तमाथि बढी छलफल हुने छ । मुख्य गरी तीनवटा सैद्धान्तिक विषयमा बढी छलफल हुने उनको भनाई छ । जस अन्तर्गत राजनीतिक अर्थशास्त्र, द्वन्द्वात्मक भौतिकवाद र वैज्ञानिक समाजवादबारे महाधिवेशनमा छलफल चलाइने उनले बताए ।

आर्थिक व्यवस्थापन

–माओवादीले फागुन १ गतेको महाधिवेशन उद्घाटन समारोहमा करिब तीसदेखि ४० हजार जनता र कार्यकर्ता काठमाडौंमा उतार्ने योजना बनाएको छ । तीनिहरुको बन्दोवस्त सबै पार्टीले मिलाउने बताइएको छ । यदि अनुमान गरेजति जनपरिचलान भए करिब २ करोड ५० लाख भन्दा बढी खर्च हुनसक्ने अनुमान गरिएको स्थायी समिति सदस्य वास्तोलाले जानकारी दिए ।

–उनका अनुसार महाधिवेशनको अनुमानित खर्च करिब ५ करोड हाराहारीमा हुनेछ । महाधिवेशनमा भएको कुल खर्चको हिसाब महाधिवेशन सकिएपछि सार्वजनिक गर्ने माओवादीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!