काठमाडौँ, २६ फागुन । आइसिसी विश्वकप छनोटका लागि जिम्बाब्वे भ्रमणमा शनिबार (अाज) अफगानिस्तानविरुद्ध प्रतियोगिताको तेस्रो खेल खेल्दा सुपर सिक्सको प्रारम्भिक लक्ष्य हासिल गर्ने झिनो आशा कायम राख्न पनि नेपाली राष्ट्रिय टोलीसामू जितको विकल्प हुने छैन।
प्रतियोगितामा दुई खेल खेलेको नेपाल र तीन खेल खेलेको अफगानिस्तान अहिलेसम्म अंक बिहिन छन्। छनोट प्रतियोगिता सुरू हुनुअघि प्रमुख दाबेदारको रुपमा हेरिएको नव टेस्ट राष्ट्र अफगानिस्तानले स्कटल्याण्ड, जिम्बाबे र हङकङसँग पराजय व्यहोर्यो भने नेपाल पनि जिम्बाबे र स्कटल्याण्डसँग पराजित भईसकेको छ।
सुपर सिक्समा पुगेर एकदिवसीय मान्यता प्राप्त गर्ने लक्ष्यसहित जिम्बाबे पुगेको नेपालले आफ्नो पुरानो प्रतिद्वन्दीलाई पराजित गर्दै आशा जीवित राख्ने तयारीमा हुनेछ भने अफगानिस्तान चौथो खेलमा पहिलो जित दर्ता गरेर सुपर सिक्स पुग्ने झिनो आशा राख्न चाहन्छ।
आज नेपालले अफगानिस्तानलाई हराएर अन्तिम खेलमा हङकङलाई पनि पराजित गरेमा मात्र सुपरसिक्समा पुग्नेछ।

यता अफगानिस्तानले आज नेपाललाई हराएमा र हङकङ जिम्बावेसँग पराजित भएमा पनि नेपाल र हङकङको खेलको नजिता कुर्नुपर्ने हुन्छ। यदि अन्तिम खेलमा हङकङलाई नेपालले हराएमा रनरेटका आधारमा सुपरसिक्समा पुग्ने तेस्रो टिमको टुङ्गो लाग्नेछ।
नेपाल र अफगानिस्तानले एकदिवसीय क्रिकेटमा हालसम्म कुल ६ पटक खेलेका छन् जसमा अफगानिस्तान नेपालमाथि हावी हुँदै आएको छ।
जिम्बावेको बुलायाओस्थित एथ्लेटिक क्लवमा हुने खेल खेल नेपाली समयअनुसार दिउँसो १ः१५ बाट सुरु हुनेछ।
पूर्वनिर्धारीत तालिका अनुसार यो खेल क्विन्स स्पोर्टस क्लव हुने भनिए पनि आइसीसीले दर्शकको सुरक्षाका कारण अन्तिम समयमा मैदान परिवर्तन गरेको हो।
आज नेपालसँग अफगानिस्तानका दुई महत्वपूर्ण खेलाडी हुनेछैनन्। अफगानिस्तानका नियमित कप्तान अस्घर स्टानिक्जाईले एपेन्डिक्सका कारण खेल गुमाए भने जिम्बावे विरुद्धको खेलमा अभद्र व्यवहार देखाएका विकेटकिपर ब्याट्सम्यान मोहमद शेहजाद पनि दुई खेलको प्रतिबन्धमा परेका छन्। कप्तानको जिम्मेवारी रासिदले खानले लिएका छन्।















