खोटाङ, २४ फागुन । उत्पादन गरेको अदुवा बिक्री नभएपछि जिल्लाका किसान मारमा परेका छन् ।

जिल्लाका अधिकांश किसानले उत्पादन गरेको अदुवाले उचित बजार मूल्य पाउन सकेका छैनन् । भण्डारण गरेको ठाउँमै अदुवा कुहिन थालेपछि किसान मारमा परेका छन् ।

जिल्लाका पकेट क्षेत्रमा उत्पादित अदुवा बिक्री नहुँदा घरमै कुहिन थालेको अदुवा व्यवसायी महासंघका जिल्ला अध्यक्ष संग्राम राईले बताउनुभयो । “गत वर्षमा अदुवा बिक्रीबाट लाखौँ आम्दानी हुन्थ्यो,” उहाँले भन्नुभयो, “यस वर्ष बिक्री नभएपछि आँगनमै चाङ लगाएर राख्न बाध्य भएका छौँ ।”

विसं २०७१ मा प्रतिकिलो रु ८० देखि रु १५० सम्ममा बिक्री भएको अदुवाको बजार भाउ तीन वर्षयता ओरालो लागेको छ । हाल अदुवाको बजार भाउ प्रतिकिलो रु २० देखि रु ४५ सम्म कायम छ । अदुवा खरिदका लागि यसअघि काठमाडौँ तथा तराईका इटहरी, कटारी र गाईघाटबाट व्यापारी आउने गरेका थिए । यस वर्ष काठमाडौँ तथा तराईबाट कोही नआएको किसानले बताएका छन् ।

बजार नपाएपछि मकै बालीसँगै अदुवा खेती गर्दै आएका किसान आगामी वर्ष अदुवा खेती छोडेर मकै खेती मात्र गर्ने तयारीमा छन् । किसानको समस्यालाई ध्यानमा राखेर अदुवा प्रशोधन केन्द्र स्थापनाका लागि दुईवटा ठाउँमा जग्गासमेत हेरिसकेको उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!