अनलाइन खबर

काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसले राष्ट्रपति चुनावमा उम्मेदवार बनाउने नबनाउने भन्ने छलफल थालेको छ । साँझसम्म निर्णय हुने नेताहरु बताउँछन् ।

राष्ट्रपति चुनाव २९ गतेका लागि तय भएको छ । भोलि उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

Advertisement

वाम गठबन्धनको भागवण्डामा राष्ट्रपति एमालेको भागमा परेको छ र उम्मेदवार टुंगो लगाउन अपराह्न स्थायी कमिटी बैठक बोलाइएको छ । वर्तमान राष्ट्रपति विद्या भण्डारीसँगै पूर्वप्रधानमन्त्री झलनाथ खनाल राष्ट्रपति उम्मेदवारका दावेदार छन् ।

संसदमा प्रष्ट बहुमत भएकाले वाम गठबन्धनको उम्मेदवार नै राष्ट्रपति बन्ने पक्का छ ।

कांग्रेसमा हार्ने चुनावमा उम्मेदवारी दिने कि नदिने भन्ने बहस छ । केहीले हार्ने चुनावमा उम्मेदवारी दिन नहुने बताएका छन् भने केहीले निर्विरोध हुन दिन नहुने मत राखेका छन् ।

‘सभामुखमा उम्मेदवारी नदिने भएपछि राष्ट्रपति पनि देशको हुने भएकाले किन उम्मेदवारी दिने भन्ने मत पनि छ’ एक नेताले भने, ‘तर, सिंगो पार्टी चलायमान हुने भएकाले उम्मेदवारी दिनुपर्छ भन्ने मत पनि छ । साँझसम्म निर्णय होला ।’

कांग्रेसले उम्मेदवारी दिने निर्णय गरेको अवस्थामा मानबहादुर विश्वकर्मा उम्मेदवार हुने पक्का छ । उपसभामुखको उम्मेदवार भइरहेका उनी देउवा समूहका सांसद हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!