काठमाडौं, २२ फागुन । विश्व जागरण महाअभियान ट्रष्टले पशुपतिको वनकालीमा आयोजना गरेको पशुपति कोटीहोम महायज्ञ तथा तुलादान कार्यक्रमको आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको छ ।
वनकाली क्षेत्रमै पत्रकार सम्मेलन गरेर विश्व जागरण महाअभियान ट्रष्टले कोटीहोमको खर्च विवरण सार्वजनिक गरेको हो । ट्रष्टका अनुसार १५ दिने कोटीहोममा २ करोड ५५ लाख ८६ हजार १ सय ७१ रुपैया आम्दानी भएको जनाएको छ ।
त्यस्तै, ९४ लाख ७३ हजार २ सय २६ रुपैया खर्च भएको ट्रष्टले जनाएको छ । फागुन ४ गतेदेखि फाुगन १९ गतेसम्म सञ्चालन भएको कोटीहोममा ५० वर्ष नाघेका ६ हजार भन्दा बढी श्रद्धालु भक्तजनले तुलादान गरेका थिए ।
कोटीहोममा संकन भएको रकममध्ये अक्षय कोषमा जम्मा भएको रकम भने ट्रष्टको कोषमै रहने छ । बाँकी रकम विश्व जागरण महाअभियान ट्रष्टको आश्रम निर्माण लगायत वृद्धाश्रम निर्माणमा खर्च गर्ने जनाएको छ ।