काठमाडौँ, २१ फागुन।  इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणको सिलसिलामा आज काठमाडौं आइपुगेका छन् ।

Advertisement

प्रधानमन्त्रीमा नियुक्त हुनुभएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई शुभकामना दिन पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपाल आउनुभएको हो ।

पाकिस्तानी सेनाको विशेष विमानबाट यहाँ आउनुभएका प्रधानमन्त्री अब्बासीलाई अर्थ मन्त्री डा युवराज खतिवडा र परराष्ट्र सचिव शंकरदास बैरागीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गर्नुभयो ।

विमानस्थलबाट प्रधानमन्त्री अब्बासी केहीबेर विश्रामका लागि होटल हायात रिजेन्सी जानुभएको छ । आजै प्रधानमन्त्री अब्बासीको सम्मानमा राष्ट्रका तर्फबाट नेपाली सेनाको एक टुकडीले सैनिक मञ्च टुँडिखेलमा सम्मान गारत(गार्ड अफ अनर) प्रदान गर्नेछ ।

त्यगैगरी, आज साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पाकिस्तानी समकक्षीसँग पारस्परिक हित र चासोका विषयमा विचारविमर्श गर्नुहुनेछ । साथै उहाँले प्रधानमन्त्री अब्बासीको सम्मानमा रात्रिभोजको आयोजना गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग पाकिस्तानका प्रधानमन्त्री अब्बासीले राष्ट्रपति भवन शीतल निवासमा भोलि बिहान शिष्टाचार भेट गर्नुहुनेछ । राष्ट्रपतिसँगको भेट अघि उहाँको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता हुने कार्यक्रम छ । नेपालको दुई दिने भ्रमण पूरा गरी भोलि नै प्रधानमन्त्री अब्बासी स्वदेश प्रस्थान गर्नुहुनेछ ।

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!