काठमाडौं, २१ फागुन । नेपाली कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु भएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा मतदान सुरु भएको हो ।
संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंह उम्मेदवार छन् ।
मतदानका लागि विद्युतीय मेसिन प्रयोग नगरी बाकसको व्यवस्था गरिएको छ । कांग्रेसका ६३ जना सांसदले नेता चुन्न निर्वाचनमा भाग लिनेछन् । संसदीय दलको नेतामा निर्वाचित हुन बहुमत भए पुग्छ ।
बहुमत सांसद देउवा पक्षमा भएकाले उनी नै संसदीय दलको नेता निर्वाचित हुने पक्का छ । यसबारे जानकार पौडेल पक्षले देउवालाई सर्वसम्मत हुन नदिन सिंहलाई अघि सारेको हो ।
निर्वाचन समिति संयोजक चिनकाजी श्रेष्ठका अनुसार निर्वाचन सकिएलगत्तै मतगणना हुनेछ र अपरान्ह संघीय संसद बैठक बस्नुअघि नै दलको नेता निर्वाचित भएको घोषणा गरिनेछ ।