
काठमाडौँ, २० फागुन। राष्ट्रियसभाका ५५ जना सदस्यले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको राष्ट्रियसभा कक्षमा आज साँझ आयोजित एक कार्यक्रममा ज्येष्ठ सदस्य तारादेवी भट्टले उहाँहरुलाई शपथ दिलाउनुभएको हो । केही सांसदले आ–आफ्नो मातृभाषामा शपथ लिनुभएको थियो ।
शपथ कार्यक्रममा राष्ट्रियसभा सदस्य रमेशप्रसाद यादव भने उपस्थित हुनुभएन ।

मुलुकका प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, एक अपांगता वा अल्पसंख्यकसहित आठ जनाका दरले राष्ट्रियसभामा प्रतिनिधित्व हुने संवैधानिक व्यवस्था रहेको छ । राष्ट्रियसभामा नेकपा (एमाले) का २७, नेपाली काँग्रेसका १३, नेकपा (माओवादी केन्द्र)का १२, राष्ट्रिय जनता पार्टी दुई र संघीय समाजवादी पार्टी नेपालका दुई जना सदस्यको प्रतिनिधित्व रहेको छ ।
शपथ ग्रहणपछि संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईबाट नवनिर्वाचित सांसदलाई बधाई तथा शुभकामना व्यक्त भयो । त्यसपछि राष्ट्रियसभा सदस्यलाई तोकिएको लोगो लगाउन भनिएको थियो ।

सरकारको सिफारिशमा राष्ट्रपतिबाट नियुक्त भएका तीन जना सदस्यलाई भने सर्वाेच्च अदालतको ‘शपथ नगराउनू’ भन्ने अन्तरिम आदेशपछि उहाँहरुको शपथ रोकिएको हो ।
यसअघि ज्येष्ठ सदस्य भट्टलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आजै पद तथा गोपनीयताको शपथ दिलाउनुभएको थियो । राष्ट्रियसभा सदस्यमा अहिले २१ महिला र ३५ पुरुषको प्रतिनिधित्व रहेको छ । संघीय संसद्को माथिल्लो सदनका रुपमा रहने ५९ सदस्यीय राष्ट्रियसभामा राष्ट्रको विविध क्षेत्रका बौद्धिक व्यक्तित्वहरु उपस्थिति रहने गर्छ ।
संघीय गणतन्त्र नेपालको संविधान जारी भएपछि राष्ट्रियसभा पहिलो पटक गठन भएको हो । नेपालको संविधानको धारा ८६ मा राष्ट्रियसभा गठन र पदावधिसम्बन्धी व्यवस्था रहेको छ ।
छ वर्ष कार्यकाल रहने राष्ट्रियसभाका सदस्यमध्ये एक तिहाईको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुनेछ । संविधानको धारा ८८ बमोजिम सदन वा समितिको बैठकमा भाग लिनुअघि शपथ लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रतिनिधिसभा सदस्यको शपथमा चार सांसद अनुपस्थित
संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाका सदस्यको शपथ कार्यक्रममा चार सांसदको अनुपस्थिति रह्यो ।
प्रतिनिधिसभाको सभाहलमा आज भएको शपथ कार्यक्रममा सांसदहरु टोपबहादुर रायमाझी, महेन्द्रराय यादव, धर्मशीला चापागार्इं र रेशम चौधरी अनुपस्थित रहनुभएको संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिनुभयो ।
सांसदहरुलाई ज्येष्ठ सदस्य महन्थ ठाकुरले शपथ गराउनुभएको थियो । कूल २७५ सदस्यीय प्रतिनिधिसभाका सदस्यको शपथमा २७१ सांसद उपस्थित हुनुहुन्थ्यो ।
सांसद चौधरी अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा हुनुहुन्छ भने अन्य सांसद व्यक्तिगत कारणले शपथमा अनुपस्थित रहनुभएको बताइएको छ ।


















