ईश्वर थापा/संगालोखबर

धनकुटा, १९ फागुन । धनकुटामा आईतबारदेखि सुरु हुँने प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं चौथो धनकुटा महोत्सवको तयारी पुरा भएको छ । आयोजक धनकुटा उद्योग बाणिज्य संघले शनिवार महोत्सव स्थल तल्लो टुडिखेलमा पत्रकार सम्मेलन गरी महोत्सवको सम्पूर्ण तयारी सकिएको जानकारी दिएको हो ।

Advertisement

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आईतबार विहान साढे ११ बजे महोत्सव उद्घाटन गर्ने कार्यक्रम तय गरिएको महोत्सव मुल समारोह समिति संयोजक उमेश घिमिरेले जानकारी दिए । उनका अनुसार महोत्सवको स्टल निर्माण, मुल तथा स्वागत गेट निर्माण, प्रचारप्रसार लगायत सम्पूर्ण काम पुरा भएको छ । महोत्सवलाई लक्षित गरी धनकुटा बजार पनि सिंगारिएको छ ।

धनकुटाको आर्थिक सम्भावनाहरुको खोजी एवम् प्रवद्र्धन गर्दै सांस्कृतिक, सामाजिक र ऐतिहासिक धरोहरहरुको प्रवद्र्धन र सम्वद्र्धन गर्ने उद्देश्यले आईतबारदेखि फागुन ३० गतेसम्म महोत्सव आयोजना गरिएको हो ।

महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला, संस्कृतिको प्रदर्शन र स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवम् सेवाको परिचय गराउन १ सय ६० वटा स्टल निर्माण गरिएको प्रचारप्रसार समिति संयोजक विजयसन्तोषी राईले जानकारी दिए । उनका अनुसार महोत्सवमा २ लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र २ करोडभन्दा बढिको कारोबार गर्ने अनुमान गरिएको छ ।

महोत्सवको मुख्य आकर्षणको रुपमा हेलिकप्टरबाट जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलको दृश्यावलोकन गराईने तथा हेली फ्ल्याईटमार्फत ताप्लेजुङको पाथीभरा मन्दिर, खोटाङको हलेसी मन्दिर र संखुवासभाको गुफापोखरीको दर्शनका लागि टुर प्याकेजको व्यवस्था मिलाईएको छ । त्यस्तै हर्स राईडिङ (घोडा चढी) को आनन्द पनि लिन सकिनेछ ।

धनकुटालगायत प्रदेश १ का १४ वटै जिल्लाका उत्कृष्ट उद्यमीहरुले उत्पादन गरेका सामाग्रीहरु विक्री तथा एनटीआईएसमा समावेश १९ प्रकारका वस्तुहरुको प्रदर्शनी र विक्री पनि महोत्सवको आकर्षणको रुपमा रहेको प्रचारप्रसार समिति संयोजक राईले जानकारी दिएका छन् ।

यस्तो छ धनकुटा महोत्सवको तयारी, भिडियो हेर्नुहोस् …

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!