काठमाडौं, १८ फागुन । संघीय समाजवादी फोरम एमाले–माओवादीसँग दुईबुँदे राजनीतिक सहमति गरी सरकारमा जान तयार भएको छ । संविधान संशोधन गर्न सकिने विषय संयुक्त कार्यदलमार्फत गृहकार्य गर्दै जाने सहमति गर्दै फोरम सरकारमा सहभागी हुन तयार भएको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
दुईतिहाइ मत पुर्याउने गृहकार्यसहित एमाले र माओवादी केन्द्रले एक सातादेखि लगातार छलफल गर्दै आएका छन् । प्याकेजमै विषय नटुंगिएकाले सरकार–फोरम छलफल लम्बिँदा मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।
मन्त्रालय बाँडफाँटमा भने सहमति जुट्न सकेको छैन । समाचार अनुसार सरकारले २ मन्त्रालय दिने प्रस्ताव गरेको छ भने फोरमले ३ मन्त्रालय मागेको छ ।
नागरिक दैनिकले पनि वाम गठबन्धन र फोरमबीचको पछिल्लो छलफलबारे समाचार छापेको छ । समाचार अनुसार एमाले र माओवादी केन्द्र जसरी पनि संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने प्रयास गर्दै त्यसका लागि संविधान संशोधनको एजेन्डामा सहमति गर्न तयार भएका छन् ।
नागरिकका अनुसार एमाले संविधान संशोधन गर्न र दुई मन्त्रालय दिन तयार भएको छ । तर फोरमले भने उपप्रधानसहित तीन महत्त्वपूर्ण मन्त्रालय मागेको छ ।