जेनेभा, १४ फागुन । रुसी समर्थन प्राप्त सिरियाली सरकारी सैन्यले विद्रोहीहरूमाथि आक्रमण गरिरहेका छन्। हमलामा परेर सिरियाको गुटा क्षेत्रमा मात्र कम्तीमा ७ सय सिरियाली नागरिक मारिएका छन् । मारिनेहरू मध्ये एक चौथाइ बालबालिकाहरू रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मृत्यु हुनेमध्ये अधिकांश हवाई आक्रमणमा परेका हुन् ।  हमलामा सैयौ बालबालिका मारिएको र बेपत्ता भएको जनाएको छ ।  केही दिनदेखि चरम रुपमा हत्या हिंसा भइरहेको सिरियामा कम्तीमा ३० दिनसम्म भए पनि युद्धविराम हुने भएको समाचार प्राप्त भएको छ ।

उक्त युद्धविरामसम्बन्धी प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले अनुमोदन गरेको छ । उक्त परिषदले सिरिया देशभर नै ३० दिने युद्धविरामका लागि अपीलगर्दै शनिबार एक प्रस्ताव पारित गरेको जनाइएको छ ।

जर्मनी र फ्रान्सले सिरियामा युद्धविरामका लागि ‘अधिकतम दवाव’ दिन रसियालाई आग्रह गरेका छन् । जर्मन चान्सलर एङ्गेला मर्केल तथा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरी सिरियाको गुटा क्षेत्रमा पछिल्लो समय सयौँको ज्यान जाने गरी भएको द्वन्द्वबारे ध्यानाकर्षण गराउँदै सिरियामा जारी द्वन्द्वलाई तत्काल रोक्न दवाव दिन आग्रह गरेका जर्मन चान्सलर मर्केलको कार्यालयले आइतबार जनाएको छ ।

शक्तिशाली यूरोपेली नेताहरूले फोनवार्तामा संयुक्त राष्ट्रसंघको मध्यस्थतामा घोषणा गरिएको युद्धविरामलाई कार्यान्वयनमा लान आग्रह गर्नुभएको हो । उहाँहरूले सिरियाली सरकारलाई युद्धविरामका लागि अधिकतम दवाव दिई हवाई तथा स्थल आक्रमण गर्नबाट रोक्न रसियाली पहलबारे छलफल गर्नुभएको हो ।

  

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!