काठमाडौँ, १२ फागुन । ‘नेपालको संघीय संरचनामा गुणस्तरीय शिक्षा’ विषयको दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन आज सकिएको छ । सम्मेलनको समापन प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले गर्नुभयो ।
सम्मेलनको समापन गर्दै उहाँले संघीय संरचनामा शिक्षा प्रणालीलाई नीतिगत सुधार गर्ने बताउनुभएको छ । उहाँले शिक्षामा पहिलेको भन्दा केही सुधार देखिएकाले अब संघीयतामा शिक्षाको सुधार झनै हुने बताउनुभयो ।
उहाँले प्रदेश सरकारले व्यावहारिक शिक्षा प्रदान गरेर शिक्षामा चमत्कार गर्ने बताउनुभयो । मुख्यमन्त्री पोखरेलले सम्मेलनले आफूहरुलाई संघीयतामा कस्तो शिक्षा लागू गर्ने भन्नेमा सुझाव दिनसमेत आग्रह गर्नुभयो ।
उच्च माध्यामिक विद्यालय तथा शिक्षालय संघ नेपाल (हिसान)को आयोजनामा भएको सो सम्मेलनमा १६ देशकासंघीयतामा शिक्षा नीतिका बारेमा १८ वटा कार्यपत्र प्रस्तुत गरिएका थिए । उनीहरुले आफ्नो देशमा भएका संघीय शिक्षाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
सम्मेलनमा एक अर्काबीच संघीय शिक्षाबारे अनुभव आदानप्रदान समेत गरिएको थियो । सम्मेलनमा नेपालसहित १६ देशका विभिन्न विश्वविद्यालयका करिब ३५० प्राध्यापकको सहभागिता थियो ।
नेपालमा संघीय संरचनामा कस्तो शिक्षा नीति आवश्यक हुन्छ भनेर छलफल गर्नका लागि सम्मेलन आयोजना गरिएको हिसानका सचिव रामहरि सिलवालले जानकारी दिनुभयो । सम्मेलनमा सहभागी हुनका लागि भारत, चीन, अमेरिका, बेलायत, बंगलादेशलगायत देशका विभिन्न विश्वविद्यालयका प्राध्यापक आएका थिए ।