काठमाडौँ, १२ फागुन । नेपाली काँग्रेसले संघीय संसदीय दलमा पेश भएको विधानलाई परिमार्जनसहित पारित गरेको छ ।
काँग्रेस संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले नेता डा मीनेन्द्र रिजालले प्रस्तुत गर्नुभएको विधानको संशोधन प्रस्तावलाई पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाउन सिफारिस गर्ने निर्णय गरेको हो ।
परिमार्जित विधानलाई भोलि आइतबारदेखि शुरु हुने केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेपछि दलको नेता चयन प्रक्रिया शुरु हुने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठकले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले तीनवटै तह स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा सफलताका साथ सम्पन्न गरेकामा सभापति देउवालाई धन्यवाद ज्ञापन गरेको छ ।
त्यस्तै, काँग्रेसले तत्कालीन देउवा सरकारले राष्ट्रियसभाका लागि तीन सदस्य मनोनीत गरेकामा राष्ट्रपतिले बदर गर्नु असंवैधानिक कदम भएको आरोप लगाउँदै उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।
काँग्रेसले संविधानको ढाँचाअनुसार संसदीय दलको पुरानो विधानलाई संशोधन गरी नयाँ विधान बनाएको हो । अहिले राष्ट्रियसभा र प्रतिनिधिसभा दुवैलाई मिलाएर संघीय संसद् बनेको हुनाले त्यसअनुरुपको नयाँ विधान बनेपछि मात्रै संसदीय दलको निर्वाचन गर्नुपर्ने हुन्छ ।
काँग्रेसले संसदीय दलका नेता चयनका लागि भरसक सर्वसम्मत् प्रयास गर्ने र त्यो नभए निर्वाचनमा जाने बताएको छ ।
सांसदहरुले पार्टीलाई सशक्त रुपमा अघि बढाउन सहमतिका आधारमा संसदीय दलको नेताको चयन हुनुपर्ने र सहमति हुन नसकेको खण्डमा पनि अत्यन्तै स्वस्थ्य प्रतिस्पर्धाबाट नेताको चयन होस् भन्ने परामर्श दिएको नेता खाँणले बताउनुभयो ।