ललितपुर, १० फागुन ।  लामो समयसम्म बन्द रहेको सुन्दरी चोकलाई परम्परागत स्वरुपमा नै फर्काउन पाटन सङ्ग्रहालय लागेको छ ।

पाटन दरबार क्षेत्रमा रहेका चारवटा चोकमध्ये सुन्दरी चोक सबैभन्दा कलात्मक चोक रहेको सङ्ग्रहालयका प्रमुख सुरेशमान लाखेले बताउनुभयो । परम्परागत भित्ताहरु जस्ताको तस्तै छाडेर र भुइँमा लिपपोत गरेर सङ्ग्रहालयलाई परम्परागत स्वरुप दिइएको छ । मठ प्लास्टर गरिएका भित्तामा सामान्य मर्मत मात्रै गरिएको छ ।

कतिपय भित्तामा वाल पेन्ट (भित्ते चित्र) छन् । ती चित्रलाई सुरक्षित गर्नका लागि सामान्य सिसा भित्र राखिएको छ । हात्तीको झ्याल पनि यस चोकको विशेषता रहेको छ । उहाँ भन्नुहुन्छ, “हामीले यहाँ भएका वस्तु र भवन दुवैलाई सकेसम्म पुरानै स्वरुप देखाएका छौँ ।”

यहाँका दुईवटा तलामा लिपपोत गरिएको लाखे बताउनुहुन्छ । साताको एक दिन यहाँ लिपपोत हुने गरेको छ । आगन्तुकले नाङ्गो खुट्टाले हिँड्नुपर्ने उहाँ बताउनुहुन्छ । कतिपय कोठा खाली छन् । आगन्तुकले झ्याल भित्ता, भुइँलगायतबाट पनि ज्ञान पाउन सक्छन् ।

उहाँ भन्नुहुन्छ, “हामीले यसो गर्दा एकातिर सङ्ग्रहालयले परम्परागतस्वरुप पाउँछ भने अर्कातिर आगन्तुकका लागि नयाँ अनुभव हुन सक्छ ।” दुई दशकसम्म बन्द रहेको सुन्दरी चोक विसं २०७१ मा सर्वसाधारणका लागि खुल्ला भएको हो । त्यस पहिले यसलाई जिल्ला प्रहरी कार्यालयका रुपमा प्रयोग गरिएकोे थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!