काठमाडौं ,९ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्दुकको प्रयोग गर्न पाउने कानुनमा कडाई गर्न निर्देशन दिएका छन् । बिशेषगरी बम्प–स्टक (अर्धस्वचालित राइफलबाट एकै मिनेटमा सयौं राउन्ड गोली चलाउन मिल्ने उपकरण)को प्रयोगमा प्रतिवन्ध लगाउनुपर्ने ट्रम्पको भनाइ छ ।
ह्वाइटहाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले त्यससम्बन्धी कानुन बनाउन कानुन मन्त्रालयलाई निर्देशन दिइसकेको जानकारी गराएका छन ।
बम्प–स्टक उपकरण प्रयोग गरेपछि अर्धस्वचालित राइफलबाट समेत मेसिनगनकै रफ्तारमा गोली चलाउन सकिन्छ । उक्त उपकरण अमेरिकामा करिब एक सय डलरमा खरिद गर्न सकिन्छ । यस्तो उपकरण प्रयोग गरेर एक बन्दुकधारीले गत वर्ष लासभेगासमा ५८ जनाको ज्यान लिएका थिए । हालै एक विद्यालयमा पनि बन्दुकधारीले आक्रमण गर्दा १७ जनाको मृत्यु भएको थियो । स्कुले विद्यार्थी गोलीको निशाना बनेपछि अमेरिकामा बन्दुक राख्न दिने कि नदिने भन्ने विषयमा बहस सिर्जना भएको छ ।
ट्रम्पले विद्यालयको सुरक्षालाई उच्च प्राथमिकता दिएका छन् ।