रत्ननगर, चितवन, ८ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पार्टीको अध्यक्षता केपी ओली र आफूले पालैपालो गर्ने बताउनुभएको छ ।

भरतपुरमा आज प्रेस चौतारी नेपाल र प्रेस सेन्टरले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले सैद्धान्तिक रुपमा नेपाल कम्युनिष्ट पार्टी भइसकेको भन्दै कानूनी रुपमा निर्वाचन आयोगमा दर्ता गरेपछि भन्न मिल्ने उल्लेख गर्नुभयो ।

“महाधिवेशन नभएसम्म दुवैैजना अध्यक्ष प्रणालीमा गएका छौँ, आजबाट केपी ओली र मलाई अध्यक्ष मान्दा भयो,” उहाँले भन्नुभयो । व्यवहारिक र सैद्धान्तिक रुपमा ओली र आफू नयाँ पार्टीको अध्यक्ष भएको भन्दै दाहालले बैठकको अध्यक्षता समेत आलोपालो गर्ने गरी सहमति भएको जानकारी दिनुभयो । महाधिवेशनसम्म यसैगरी अघि बढ्ने उहाँको भनाइ थियो ।

अन्तरिम राजनीतिक प्रतिवेदन बनाउन माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठको सहभागितामा कार्यदल बनाएको र अर्काे कार्यदल अन्तरिम विधान र संगठनको सेटका लागि सुझाव दिन रामबहादुर थापा, प्रदीप ज्ञवाली लगायतको सहभागितामा दुईवटा कार्यदल बनाएको उहाँले बताउनुभयो ।

हप्ता दिनभित्रमा कार्यदलको सुझावको आधारमा र त्यही विधानको आधारमा बैठक बसेर पुरानो समिति भंग गर्ने तथा नयाँ केन्द्रीय समिति बनाएर निर्वाचन आयोगमा दर्ता गर्ने अध्यक्ष दाहालले बताउनुभयो ।

दुई वर्षभित्रमा महाधिवेशन गर्ने र सो समयसम्म ओली नै प्रधानमन्त्री हुने दाहालको भनाइ थियो । “महाधिवेशनपछि त महाधिवेशनले के गर्छ भन्ने हो, तर अहिले पाँचै वर्षका लागि ओली नै प्रधानमन्त्री, अव महाविधेशनले यही गर्छ भनेर मैले अहिले नै भन्न सक्दिन नी,” पत्रकारको जिज्ञासामा अध्यक्ष दाहालले भन्नुभयो ।

उहाँले सरकारमा आजै मन्त्री सिफारिस गर्ने जानकारी दिनुभयो । “नेपाल राष्ट्रका निम्ति निकै दुरगामी परिणाम यो एकता हो,” उहाँले भन्नुभयो । जनताको चाहना पूरा भएको भन्दै अध्यक्ष दाहालले खुशी व्यक्त गर्नुभयो ।

विमानस्थलमै आइपुग्नुभएका काँग्रेस महामन्त्री शशांक कोइरालाले कम्युनिष्ट एकतालाई सकारात्मक रुपमा लिएको भन्दै काँग्रेसलाई पनि बलियो बनाउन फाइदा पुगेको बताउनुभयो । उहाँले प्रचण्डसँग हात मिलाउँदै एकताको बधाईसमेत दिनुभएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!