काठमाडौं, ६ फागुन । प्रदेश ४ को उपसभामुख चयनका लागि भएको निर्वाचनमा सिर्जना शर्मा विजयी भएकी छिन् । उपसभामुख चयनका लागि आइतबार भएको निर्वाचनमा एमाले सांसद सिर्जना शर्माको पक्षमा ३८ मत र विपक्षमा १८ मत परेको थियो । बाम गठबन्धनको भागबण्डा अनुसार एमालेको भागमा उपसभामुख परेको थियो ।
माओवादी केन्द्रको समेत समर्थनमा शर्मा प्रदेशको पहिलो उपसभामुख बन्न सफल भइन। एमाले प्रदेश कमिटी सदस्य तथा अखिल नेपाल महिला संघको केन्द्रीय सचिव समेत रहेकी शर्मालाई उपसभामुख बनाउन एमालेका मायानाथ अधिकारीले प्रस्ताव गरेका थिए। माओवादी केन्द्रकी गायत्री गुरुङले शर्मालाई उपसभामुखमा समर्थन गरेकि थिईन्।

सभामुख र उपसभामुख फरक पार्टी र फरक लैंगिक वर्गको हुनुपर्ने भएपछि शर्मालाई उपसभामुखमा प्रस्ताव गरिएको थियो। शर्मासँगै कांग्रेसकी मनकुमारी गुरुङ र राष्ट्रिय जनमोर्चाकी पियारी थापाले पनि उपसभामुख बन्नका लागि दावि सहित उम्मेदवारी दिएका थिए । तर, बहुमत सदस्यको समर्थनमा शर्मा उपसभामुख बन्न सफल भईन ।
प्रदेशसभाको आइतबारको बैठकमा ५६ जना सदस्य उपस्थित थिए। तीनजना उम्मेदवार भएपछि मत विभाजन प्रक्रिया अनुसार उपसभामुख चयन गरिएको थियो। शर्माले एमाले र माओवादी केन्द्रका ३८ जना सदस्यको साथ पाएकी थिईन्। शर्माको विपक्षमा १८ जनाको मत आएको थियो । जनमोर्चा र कांग्रेसका सदस्यहरुले शर्माको विपक्षमा मत दिएका थिए ।















