- संगालोखबर सम्वाददाता

संखुवासभा । किरात याक्खा साँस्कृतिक कलाकार संघ सुनसरीले उच्च शिक्षा कोष स्थापनाका लागि साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । संघले चैते दशैं तथा नया बर्षको अवसर पारेर चैत २५ गते धरानमा कार्यक्रम आयोजना गर्न लागेको हो ।

उत्कृष्ट नतिजासहित माध्यमिक तह उत्तीर्ण गर्ने एक जना बिपन्न याक्खा विद्यार्थीलाई आर्थिक सहयोग गर्ने उद्देश्यले कोषको स्थापना गर्ने संघको लक्ष्य छ । कार्यक्रममा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । गायिका ज्योति मगरको साथमा बिनोद खम्बु र ममता राईले सांगीतिक मनोरञ्जन दिने कार्यक्रमका प्रचार संयोजक भीम देवानले जानकारी दिए ।

Advertisement

कार्यक्रममा उर्जा ब्याण्ड र गरिमा डान्स सेन्टरको पनि प्रस्तुति रहने जनाईएको छ । कलाकार संघ आदिवासी याक्खा जातिको सामाजिक संस्था किरात याक्खा छुम्माको भातृ संगठन हो ।

पब्लिक हाईस्कुलको खेलमैदानमा दिउसो ३ बजे शुरु हुने कार्यक्रममा याक्खा जातिको सँस्कृति झल्कने नृत्यहरु पनि प्रस्तुत गरिने आयोजकले जनाएको छ । आदिवासी याक्खा जातिको मुख्य बसोबास संखुवासभाको दक्षिणी र धनकुटाको उत्तरी क्षेत्रमा रहेको छ ।

कार्यक्रमबाट संकलित रकमबाट उच्च शिक्षा कोषको स्थापना गर्ने र त्यसको व्याजले उत्कृष्ट बिपन्न विद्यार्थीलाई बर्षेनि छात्रवृत्ति प्रदान गर्ने लक्ष्य रहेको संघका अध्यक्ष जीवन देवानले जनाए । उनका अनुसार आर्थिक सहयोगका लागि समाजसेवी, व्यापारी तथा शुभेच्छुकहरुसँग अनुरोध गरिने छ । रकम जुटाउन कार्यक्रममा एक सय पचास रुपैया दरको टिकट पनि बिक्री गरिने भएको छ ।

सकेसम्म कम खर्चमा कार्यक्रम सम्पन्न गरेर अधिकतम रकम बचाउने लक्ष्य रहेको संघकी उपाध्यक्ष कृष्णा जिमीले बताईन् । ‘राम्रो सोंचका लागि काम गर्न लागेका छौं, यसका लागि सबैको सहयोग र सुझाव आवश्यक छ’, उनले भनिन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!