
ललितपुर, २४ माघ । प्रदेश नं ३ मा राष्ट्रिय सभा सदस्यका लागि ललितपुर महानगरपालिका–४ को कार्यालयमा मतदान भएको मतदान सकिएको छ।
प्रदेश ३ मा आठजनाकै निर्वाचन भएको छ । तीन महिला सदस्यका लागि चारजना प्रतिस्पर्धामा छन् । कांग्रेसबाट धनाकुमारी खतिवडा, एमालेबाट उदया शर्मा(पौडेल) र दिलाकुमारी रावल थापा (पार्वती) तथा नेपाल मजदुर किसान पार्टीबाट गीता काफ्ले उम्मेदवार छन् । अन्यतर्फबाट निर्वाचित हुने तीनजनामा चारजनाको उम्मेदवारी परेको छ ।
कांग्रेसबाट राधेश्याम अधिकारी, एमालेबाट बलराम बास्कोटा, माओवादी केन्द्रबाट रामबहादुर थापामगर तथा नेपाल मजदुर किसान पार्टीबाट कृष्णबहादुर तामाङ प्रतिस्पर्धामा उत्रिएका हुन् । एकजना दलित सदस्यमा तीनजनाले उम्मेदवारी दिएका छन् ।
कांग्रेसबाट हरिशरण नेपाली, एमालेबाट सिंगबहादुर विश्वकर्मा र नेपाल मजदुर किसान पार्टीबाट श्मामु विसुंके प्रतिस्पर्धामा छन् । अपांग/अल्पसंख्यक व्यक्तिबाट एकजनाका लागि कांग्रेसबाट मदनकृष्ण श्रेष्ठ, एमालेबाट रामचन्द्र राई र नेपाल मजदुर किसान पार्टीबाट हिमालयश्वरलाल मुलले उम्मेदवारी दिएका छन् ।
बुधबार ३२ जना निर्वाचित गर्नका लागि हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा ५२ जना प्रतिस्पर्धामा उत्रिएका छन् । ६ प्रदेशमा विभिन्न क्लस्टरबाट ३२ जनाभित्र पर्न ५२ जनाले उम्मेदवारी दिएका छन्।