काठमाडाैं, २४ माघ । राष्ट्रियसभा सदस्यकाे निर्वाचन शुरु भएको छ । २ नम्बर प्रदेश बाहेक अन्य प्रदेशमा बुधबार विहान १० बजेबाट मतदान शुरु भएको हो । सदस्य चयनका लागि ६ वटा प्रदेशमा मतदान भइरहेको छ । प्रदेश २ बाट भने सबै निर्विरोध निर्वाचित भएकाले मतदान नै गर्नु परेन ।
प्रदेश १, ३, ४, ५, ६ र ७ का ६ ठाउँमा मतदान भइरहेको छ । राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुखका साथै प्रदेशसभा सदस्य मतदाता छन् ।
मतदानका लागि पुगेका प्रदेश सांसदहरुले भने हातमा ठूलो प्रमाणपत्र बोकेका छन् । यो सांसदमा निर्वाचित भएको भनेर निर्वाचन आयोगले दिएको प्रमाणपत्र हो ।
तर, सांसद भएको प्रमाणित गर्ने अर्को कुनै परिचय पत्र नभएका कारण प्रदेशसभा सदस्यहरु त्यही प्रमाणपत्र बोकेर भोट हाल्न लाइनमा लागेका हुन् ।