राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मंगलबार साँचो हस्तान्तरण गर्नुभएको कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको पहलमा सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि निर्माण भएको भूकम्प प्रतिरोधात्मक सुविधासम्पन्न ४७ घर । तस्वीर: रासस

रौतहट, २३ माघ । धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गरेकोे ‘सन्तपुर एकीकृत नमूना बस्ती’ का सुन्दर घरमा आजदेखि ४८ माझी परिवारले बास पाएका छन् ।

चन्द्रपुर नगरपालिका–८ स्थित विशेष समारोहबीच सन्तपुर एकीकृत नमूना बस्तीको राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रुपमा उद्घाटन गरेर बस्तीको साँचो नमूना बस्ती निर्माण समितिका अध्यक्ष सत्यनारायण माझीलाई हस्तान्तरण गरेपछि आजदेखि माझी परिवारले ती घरमा बस्न पाउने भएका हुन् ।

Advertisement

गत साउनमा आएको बाढीका कारण माझी बस्ती डुबानमा परी घरबारविहीन भएका थिए । प्रत्येक वर्ष साउने बाढीले कमजोर घर भत्काउने र बस्ती नै घरबारविहीन हुने अवस्था थियो । वर्षौंदेखिको डुबानको समस्यालाई पक्का सुन्दर नमूना बस्तीले केही हदसम्म पूरा गरेको छ अर्थात् ४७ परिवारले बास पाएका छन् ।

फाउन्डेशनले करिब रु पाँच करोड ९५ लाखको लागतमा निर्मित भएको सो बस्ती निर्माण फाउन्डेशनका अध्यक्ष तथा कलाकार कट्टेल गत असोज २८ गतेदेखि त्यही बसेर आफँै खटेर निर्माण गरिएको हो । कलाकार कट्टेलले भन्नुभयो, “दशैँ, तिहार, छठ नभनी परिवारको कुनै परबाह नगरी बस्ती निर्माणमा लागेको देख्दा म धेरैपटक भक्कानिएकोे थिए, २६१ कामदार दिनरात, घामपानी केही नभनी काम गरेर ११५ दिनमा बस्ती निर्माण सफल भयो, यो निकै खुशीको दिन हो ।”

रौतहटको चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा निर्मित नमूना दलित बस्ती हस्तान्तरण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी । राष्ट्रपतिले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको बस्तीको साँचो निर्माण समितिका अध्यक्ष सत्यनारायण माझीलाई मंगलबार हस्तान्तरण गर्नुभएको छ । तस्वीर: रासस

एकीकृत बस्तीका घरहरु निकै सुन्दर छन् । कलाकार कट्टेल र कुञ्जना घिमिरेको पहलमा देश विदेशबाट आर्थिक संकलन गरी बनाएका भूकम्प प्रतिरोधात्मकका साथै सुविधा सम्पन्न तरिकाले निर्माण गरिएको छ । नमूना बस्तीमा ४७ घर, एक सामुदायिक भवन, मन्दिर, क्लब, दृश्यावलोकन स्तम्भ निर्माण भएको छ । जसले बस्तीको सुन्दरतालाई थप आकर्षक बनाएको छ ।

नमूना एकीकृत बस्तीको अवलोकनपछि राष्ट्रपति भण्डारीले भन्नुभयो, “जनता आवास कार्यक्रममार्फत सरकारले नमूना बस्ती बनाउने कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्छ, धुर्मुस–सुन्तली फाउन्डेशनजस्ता निजीस्तरबाट भएका प्रयासलाई पनि राज्यले सहयोग गर्नुपर्छ, नमूना बस्ती निर्माण ज्यादै ठूलो र अतुलनीय काम हो ।”

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले सरकारका तर्फबाट भूकम्पपश्चात घर निर्माण हुने काम प्राधिकरणमार्फत भइरहेको र फाउन्डेशनसँग पनि एकीकृत नमूना बस्ती निर्माणमा भूकम्प प्रभावित जिल्लामा सहकार्य गरेर अघि बढेको सुनाउनुभयो ।


फाउन्डेशनका सल्लाहकार कलाकार मदनकृष्ण श्रेष्ठले भन्नुभयो, “कला क्षेत्रका धुमुर्स र सुन्तलीले तोकिएको समयमा, तय गरेको बजेटमा सुन्दर बस्ती निर्माण गर्नु सानो कुरा होइन, यो पवित्र कार्यले कला क्षेत्रको नै प्रतिष्ठा बढाएको छ ।”

फाउन्डेशनका सल्लाहकार कलाकार हरिवंश आचार्यले पछाडि परेका बस्तीमा ब्यँुझिएर बस्ती निर्माण गर्ने सपना देखेको हुनाले सफल भएको भनाइ छ । बस्ती निर्माणले नयाँ घर मात्र नभई नयाँ सोच र व्यक्तित्व विकास गर्ने उहाँको विश्वास छ ।

फाउन्डेशनको चौथो परियोजनाअन्तर्गत डुबान पीडित तथा पछाडि परेका सन्तपुरका दलित माझी बस्तीमा नमूना बस्ती निर्माण गरिएको हो । त्यसअघि फाउन्डेशनले महोत्तरीको बर्दिबासको मुसहर बस्ती, काभ्रे पहरी बस्ती र सिन्धुपाल्चोकमा एकीकृत नमूना बस्ती निर्माण गर्ने काम सम्पन्न गरेको छ । आफ्नो कलाकारिता पेशालाई दाउमा राखेर देश/विदेशमा सहयोग मागी बस्ती निर्माण गर्नु आफँैमा सुन्दर काम हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!