काठमाडौं । तपाईसँग ०७० को निर्वाचनमा प्रयोग भएको फोटो सहितको मतदाता परिचयपत्र छ ? यदि त्यही परिचयपत्र बोकेर आगामी निर्वाचनमा मतदान गर्ने तयारीमा हुनुहुन्छ भने तपाईं गलत हुनुहुनेछ ।

निर्वाचन आयोगले उक्त मतदाता परिचयपत्र खारेज गरी नयाँ परिचय पत्र तयार गर्दै छ । उक्त नयाँ मतदाता परिचयपत्र प्राप्त व्यक्तिले मात्रै आगामी निर्वाचनमा मतदान गर्न र उम्मेदवार बन्न पाउनेछन् ।

कहाँ छ मतदाता परिचय पत्र ?

निर्वाचन आयोगले चैत २० गतेसम्म मतदाता नामावली अद्यावधिक गर्दै छ । यसअघिको मतदाता नामावलीमा कतिपय मतदाताको मृत्यु भएको, केहीले बसाइँ सराइको निवेदन दिएको र अधिकांशको मतदान केन्द्र परिवर्तन भएको छ ।

यस्तै, ०७० सालको निर्वाचनपछि धेरै मतदाता थपिएका छन् । उनीहरुको अद्यावधिक गर्ने काम भइरहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले अहिले मतदाता नामावलीको अद्यावधिक गर्ने र हरेक मतदाताको मतदान केन्द्र तोक्ने काम गरिरहेको छ ।

आयोगले आगामी चैत २० गतेसम्म मतदाता नामावलीको अद्यावधिक र उनीहरुको मतदान केन्द्र तोक्ने काम सम्पन्न गरिसक्ने बताएको छ । त्यसपश्चात मात्र मतदाता परिचयपत्रको छपाइ सुरु हुनेछ ।

कहिलेसम्म छापिन्छ मतदाता परिचयपत्र ?

निर्वाचन आयोगले नेपालकै एक कम्पनीलाई मतदाता परिचयपत्र छपाइको जिम्मा दिएको छ । उक्त कम्पनीले करिब २० दिनमा परिचयपत्र छापिसक्ने बताएको छ ।

उक्त कम्पनीले निर्वाचन आयोग परिसरमै मेशिन जडान गरेर निर्वाचन आयोगको निगरानीमा परिचयपत्र छाप्नेछ । आयोगको निर्वाचन व्यवस्थापनको क्यालेण्डर अनुसार बैशाख १० देखि १५ गतेसम्म आयोगले सबै मतदाता परिचयपत्र प्राप्त गरिसक्नेछ ।

कसरी पाउने मतदाता परिचयपत्र ?

निर्वाचन आयोगले हरेक मतदाताको परिचयपत्र सम्बन्धित मतदाताको मतदान केन्द्रको ठेगानामा उपलब्ध गराउनेछ । यदि विभिन्न जिल्लाका मतदाता निर्वाचनअघि काठमाडौंमा हुन सक्छन् । उनीहरुलाई लाग्न सक्छ, मेरो मतदाता परिचयपत्र म यहीँबाट लिन सक्नेछु । तर, त्यस्तो हुँदैन । हरेक मतदाताले आफ्नै मतदान केन्द्रमा पुगेर मात्र मतदाता परिचयपत्र लिन सक्नेछन् ।

निर्वाचन आयोगका अनुसार ढिलोमा करिब बैशाख १५ बाट मतदाता परिचयपत्र मतदान केन्द्रसम्म पुग्न थाल्नेछ ।

कसरी पुग्छ मतदाता परिचयपत्र ?

निर्वाचन आयोगले मतदाता परिचयपत्र हेलिकोप्टर, जहाज र गाडीबाट ढुवानी गर्ने व्यवस्था मिलाएको छ । त्यसका लागि नेपाली सेनाको सहयोग लिने निर्वाचन आयोगले बताएको छ । मतदाता परिचयपत्र निर्वाचनका लागि संवेदनशील विषय भएकाले नेपाली सेना र सशस्त्र प्रहरीको जिम्मा लगाउन लागेको हो ।

आयोगले सडकको पहुँच भएको मतदान केन्द्रहरुमा पनि सुरक्षा निकाय, सरकारी कार्यालय र केही निजी सवारी साधन भाडामा लिएर मतदाता परिचयपत्र ओसार्ने तयारी गरेको छ । सडकको पहुँच नभएको मतदान केन्द्रहरुमा भने हेलिकोप्टरबाट परिचयपत्र पुर्‍याइनेछ । यसरी आयोगले निर्वाचनअघि सबै मतदाताको हातमा मतदाता परिचयपत्र पुर्‍याउने गरी तयारी गरिरहेको छ । पुष्प ढुंगाना / अनलाईनखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!