बर्दिया । पढ्ने चाहनालाई उमेरले रोक्दैन भने झैँ बर्दिया ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँकी ६३ वर्षिया कालीकादेवी बिष्ट एक वर्षअघि छिमेकी गाउँको विद्यालयमा कक्षा ८ मा भर्ना हुनुभयो । उहाँ अहिले ठाकुरबाबा नगरपालिका–१ डुम्रेनी गाउँको जनचाहना आधारभुत विद्यालयमा कक्षा ८ को जिल्लास्तरीय वार्षिक परीक्षामा सहभागी हुनु भएको छ ।

ढाड दुख्ने समस्याले एक महिना काठमाडौंमा उपचारमै रहनुभएकी बिष्ट जहाज चढेर कक्षा ८ को परीक्षा दिन आएको बताउनुहुन्छ । ‘छोराको डिग्री सकिएपछि छोरालाई भेट्न बेलायत गएँ, त्यहाँ अंग्रेजी बोल्नु पर्ने रहेछ, त्यहाँ पनि सिकेँ, आफु प्रौढ कक्षा अनुसार ५ कक्षा मात्र झैँ पढेकोले फेरि आठ कक्षामा भर्ना भएको हुँ’ उहाँले भन्नुभयो ।

सानैदेखिको पढ्ने धोको पूरा गर्न उहाँले स्कुल जीवन सुरु गर्नुभएको हो । ‘परीक्षामा पहिलोपटक सहभागी हुँदैछु, अलिअलि डर त लागेकै छ, तर पास त पक्कै हुन्छु भन्ने लागेको छ’ मंगलबार सामाजिक विषयको परीक्षा दिईरहनु भएकी उहाँले भन्नुभयो ।

मुस्किलले आफ्नो नाम लेख्न सक्ने उहाँका अहिले अक्षर पनि राम्रा छन् । ‘छिटो भने लेख्न सक्नुहुन्न ढिलो लेख्नुहुन्छ, बेलाबेलामा अंग्रेजी पनि बोेल्नुहुन्छ’ जनचाहना आधारभुत विद्यालय डुम्रेनीकी महिला प्रधानाध्यापक लक्ष्मी पौडेलले भन्नुभयो ।

उहाँले थप्नुभयो, ‘विद्यालय नियमित रुपमा आएर उहाँले निकै मेहनत गरेर पढाइलाई अगाडि बढाइरहनुभएको थियो, एक महिना अघि ढाड दुख्ने समस्याले काठमाडौं जानु भएको थियो, मलाई त उहाँ आउनुहुन्छ होला लागेकै थिएन, तर उहाँ त परीक्षाकै लागि जहाज चढेर परीक्षामा सहभागी हुन आइपुग्नुभयो, अहिलेसम्म भएका मुख्य विषयसहित ५ वटा विषय पास गर्नु हुन्छ कि झैँ लागेको छ ।’ उहाँको गणित पनि राम्रो रहेको गणित विषयका शिक्षक लुलबहादुर थारुले भन्नुभयो ।

‘जागिर खानका लागि पढेको त होइन, तर राजनीतिमा अघि बढन पनि पढाई नै चाहिने रहेछ, त्यसैले अब कक्षा ८ पास भएँ भने नगरपालिकाको मेयर, नभएपनि उपमेयरका लागि पक्कै लड्छु’ बिष्टले भन्नुभयो ।

बर्दिया क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी रहनुभएकी बिष्टलाई राजनीतिक पार्टीका विभिन्न कार्यक्रममा नपढेकी, बोल्न नजान्ने भन्दै आफ्नै साथीहरुको हेपाई भोगेकोले त्यही ईखले नातिनातिनी उमेरका विद्यार्थीहरुसँगै पढेर कक्षा ८ को परीक्षा दिइरहनु भएको छ ।

किताब कापी बोकेर पढ्न आउँदा केहीले गिज्याउँथे पनि । तर उहाँहरुलाई यसको कुनै प्रवाह भएन । ‘साथीसंगी र गाउँलेहरुले यस्तो बुढी भएर पनि पढ्न पर्छ र ? भन्छन् । म पनि ठट्टा गर्दै क्याम्पस हिँडेको भन्दिछु, । आफू त बुढो भइसकें, तैपनि पढिरहेको छु, यदि म ८ कक्षा पास भएँ भने, आफू पढेर सानोतिनो नेता भएँ भने पनि अथवा उपमेयर भएँ भने, केन्द्रमा गएर नेताहरुसँग कुरा राखेर प्रौढ शिक्षा मात्र पढेका र बिचमै पढाई छाडेर पढन नपाएका यस क्षेत्रका गृहिणी महिलाहरुका लागि लक्षित गरी विद्यालयमा महिला कक्षा कोठा छुट्टै बनाउने ईच्छा छ । म मरेर गएँ भनेपनि दिदिबहिनीहरुका लागि केही गरेर जाँउ भन्ने सोचेको छु’ उहाँले भन्नुभयो ।

एकल महिला बिष्टका चार छोरा, दुई छोरीमध्ये दुई छोरा बेलायत र पोर्चुगलमा छन् दुई छोरा काठमाडौँमा जागिरे छन् । भावुक योगी/उज्यालो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!