- रबिन कटेल/संगालोखबर

धनकुटा । लिम्वुवानका नेता एवं किरात आठपहरिया समाज नेपालका केन्द्रिय अध्यक्ष कमल छाराहाङको शनिवार निधन भएको छ । श्वासप्रश्वास समस्याबाट ग्रसित छाराहाङको ६५ बर्षको उमेरमा अपरान्ह चार बजे निधन भएको परिवार स्रोतले जनाएको छ ।

धनकुटामा जन्म भई हाल बिराटनगर बस्दै आएका छाराहाङ आठपहरिया समाजको केन्द्रिय बिस्तारित बैठकका लागि शुक्रवार धनकुटा आएका थिए ।

मृतक छाराहाङका नाति एवं आठपहरिया समाजका पूर्व जिल्ला सचिव अर्जुन छाराहाङका अनुसार शनिवार बिहान श्वासप्रश्वास समस्याले सताएपछि उनलाई धनकुटा जिल्ला अस्पताल लगिएको थियो । जिल्ला अस्पतालमा निको नभएपछि थप उपचारका लागि बिराटनगर स्थित नोवेल मेडिकल कलेज पुर्याईएका छाराहाङको उपचारका क्रममा निधन भएको हो ।

मृतक कमल छाराहाङ ।

वुवा हर्कबहादुर र आमा ईन्द्रकुमारी आठपहरीयाको सन्तानको रुपमा बि.स. २००८ सालमा धनकुटाको ओक्मालुङ्गमा उनको जन्म भएको होे । उनी अरुण पूर्वका ९ जिल्ला लिम्बुवान राज्य बनाउँनुपर्छ भन्ने आवाज उठाउँदै आएका थिए । केही समयअघि लिम्बुवान मुक्ति मोर्चा (सङ्घीयवादी) पार्टी निर्माण गरी छाराहाङ सो पार्टीको अध्यक्ष बनेका थिए ।

संघीय लिम्बुवान पार्टीका सर्वेच्च नेतासमेत भएका उनी यसअघि नेपाल राष्ट्रिय जनजाति पार्टीका संस्थापक, राष्ट्रिय जनमुक्ति पार्टीको सङगठन बिभाग प्रमुख, जनमुक्ति पार्टीको केन्द्रिय अध्यक्ष, सङघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको अध्यक्ष र सङ्घीय लोकतान्त्रिक पार्टीको अध्यक्षसमेत भएका थिए ।

त्यस्तै उनी बालकल्याण संगठनको केन्द्रिय उपाध्यक्ष र सुकुम्वासी समस्या समाधान आयोगको सदस्यसमेत भए । जातीय मुक्ति आन्दोलनमा लागेका छाराहाङ २०७२ सालमा सम्पन्न किरात आठपहरिया समाजको चौथो महाधिवेशनबाट केन्द्रिय अध्यक्ष भएका थिए । उनका श्रीमतीसहित दुई छोरा र एक छोरी छन ।

फाइल तस्वीर

छाराहाङको पार्थिव शरिर धनकुटा ल्याईने

यसैवीच छाराहाङको पार्थिव शरिरलाई आईतवार धनकुटा ल्याईने भएको छ । बिहान साँढे ९ बजे ईटहरीबाट धरानसम्म सवयात्रा गरिने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले उल्लेख गरेका छन ।

धनकुटाको बिहिवारे हटिया स्थित आठपहरिया समाजको केन्द्रिय कार्यालयमा छाराहाङको पार्थिव शरिरलाई दिउँसो श्रद्धाञ्जलीका लागि राखिने छ ।

त्यसपछि धनकुटा बजारमा सवयात्रा गरी दिउँसो मुलघाटमा अन्त्येष्टि गरिने आठपहरिया समाजका केन्द्रिय महासचिव सुर्य आठपहरियाले संगालोखबरलाई जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!