
धनुषा, १३ माघ। काठमाडौंबाट झापा जान लागेको बा ९ च ३३१४ नम्बरको टाटा सुमो धनुषाको गणेशमान चारनाथ -८ पोर्तहा भन्ने ठाऊँमा आज बिहान ३ बजे दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । ४ जना घाइते छन्।
मृतकहरु सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी चक्रबहादुर सिंहले बताए । मृत्यु हुनेमा विराटनगरका शारदा रेग्मी दाहाल, खोटाङ निर्मलडाँडाका ज्ञानबहादुर चौहान, मोरङका बलराज न्यौपाने, मोरङ लेटाङ ८ का खेमकुमार रानामगर, पाँचथर रवि छ का प्रनिता राई, संखुवासभा धर्मदेवी वडा न ९ का नयाराज जिमी रहेको एसपी सिंहले बताए ।
चार जना घाइते छन् । घाइतेमध्ये संखुवासभाका छत्रबहादुर जिमीको अवस्था गम्भीर रहेको एसपी सिंहले बताए । घाइतेहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
गाडीभित्र ११ जना यात्रु रहेको सशस्त्र प्रहरी बेसक्याम्प रघुनाथपुरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक अनिल कार्कीले बताए । घटनास्थलबाट कार्कीले दिएको जानकारी अनुसार दुर्घटनापछि सुमो पोखरीमा डुबेको छ । ६ जनाको पोखरीको पानी खाएर मृत्यु भएको हुनसक्ने उनले प्रारम्भीक अनुमान गरेका छन् । ५ जना यात्रु गाडीको सिसा फोरेर बाहिर निस्किएको कार्कीले बताए।
















