
काठमाडौं, ११ माघ। सरकारले भूकम्पपीडित र गत वर्षको बाढीपहिरोपीडितलाई घर निर्माणका लागि थप एक लाख अनुदान दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले पीडितलाई थप एक लाख अनुदान दिने निर्णय गरेको हो । यसअघि सरकारले आवास निर्माणका लागि ३ लाख रुपैयाँ अनुदान दिने प्याकेज घोषणा गरेको थियो । त्यही अनुदान पीडितले नपाइरहेका वेला सरकारले थप एक लाख दिने घोषणा गरेको हो ।
८१ अर्ब ९ करोड आर्थिक भार
सरकारले भूकम्पपीडित र गत वर्षको बाढी र पहिरोबाट प्रभावित परिवारलाई आवास निर्माणका लागि थप एक लाख दिने निर्णयबाट राष्ट्रिय ढुकुटीमा कम्तीमा पनि ७९ अर्ब ९१ करोड २७ लाख आर्थिक भार पर्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सात लाख ६७ हजार पाँच सयजनालाई भूकम्पबाट प्रभावित परिवारलाई अनुदान दिन योग्य सूचीमा राखेको छ । गृह मन्त्रालयको तथ्यांकअनुसार बाढीपहिरोबाट प्रभावित परिवारको संख्या करिब ४१ हजार छ । त्यस्ता परिवारलाई एक लाख रुपैयाँका दरले अनुदान वितरण गर्दा कम्तीमा पनि ४ अर्ब १० करोड खर्च हुनेछ ।















