कञ्चनपुर, १० माघ।  कञ्चनपुरको चुरे क्षेत्रमा चोरी–शिकारी बढ्न थालेपछि जनप्रतिनिधिले रोक्नका लागि सक्रियता बढाएका छन् ।

चोरी–शिकारी रोक्नका लागि शुक्लाफाँटा नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिले चासो देखाएको हो । चोरी–शिकारीमा संलग्न समूहले हतियारसहित लोपोन्मुख प्रजातिका जनावर मार्न थालेको जानकारी आएपछि समितिका पदाधिकारीले सरोकारवाला निकायलाई नियन्त्रणका लागि आग्रह गरेका छन् ।

Advertisement

“चोरी–शिकारीमा संलग्न व्यक्तिहरुलाई चोरी–शिकारी गर्न प्रयोग गर्दै आएको बन्दुक लगायतका हतियार इलाका प्रहरी कार्यालयमा बुझाउन सात दिनको म्याद दिएका छौँ”, वन वातावरण तथा विपद् व्यवस्थापन समितिका पदाधिकारी एवं वडा नं ८ का अध्यक्ष बहादुर महराले भन्नुभयो ।
सात दिनभित्र हतियार नबुझाए चोरी–शिकारी गर्ने समूहको पहिचान गरी प्रचलित कानूनबमोजिम हँदैसम्मको कार्वाही गरिने उहाँले बताउनुभयो । चोरी–शिकारीमा संलग्नको पहिचान गर्नका लागि वन कार्यालय, इलाका प्रहरी कार्यालय, सामुदायिक वन र स्थानीय क्लबको सहयोग लिइने बताइएको छ ।

चोरी–शिकारीमा संलग्नले बँदेल, मृग लगायतका जनावरको शिकार गरी अवैधरुपमा असुरक्षित मासु नजिकका बजारका होटलमा लगेर बेच्ने गरेका छन् । बाघ, चितुवा, भालु लगायतको छाला निकाली तस्करीको कार्यसमेत हुने गरेको बताइएको छ । अवाञ्छित कार्यमा संलग्न समूहमा हिँड्ने र शिकार गर्नका लागि जंगलमै बास पनि बस्ने गरेको स्थानीय बासिन्दाको भनाइ छ ।

चुरे क्षेत्रमा पर्ने आधा दर्जनभन्दा बढी सामुदायिक वनका पदाधिकारीसमेत वन्यजन्तुलाई चोरी–शिकारीबाट जोगाउनका लागि सामूहिक गस्तीको कार्यमा जुटेका छन् । रात्रि र दिउँसो गरी वन क्षेत्रमा गस्तीको कार्य गरेपनि हालसम्म चोरी–शिकारीमा संलग्नलाई भेटाउन नसकेको सामुदायिक वनको संरक्षणमा संलग्न लालबहादुर महराले बताउनुभयो ।

“संरक्षणकर्मीको गस्ती एक वनमा जाँदा चोरी–शिकारीमा संलग्न चाल पाएर अर्को वनमा छिर्ने गरेकाले पक्रन सकेका छैनौँ”, उहाँले भन्नुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!