अन्‍नपूर्ण

काठमाडौं, १० माघ। चीन सरकारले भूकम्पीडितलका लागि ३४ हजार सोलार अनुदान दिएको छ । भूकम्पपीडितको व्यक्तिगत घरमा प्रयोग गर्ने गरी ३२ हजार, भूकम्प प्रभावित क्षेत्रका विद्यालय, स्वास्थ्य चौकी र सरकारी कार्यालयका निम्ति प्रयोग गर्न तीन सय २५ वटा सोलार चीनले दिएको हो । चीनले ३२ हजार तीन सय २५ सोलर जडान गर्दा र सम्बन्धित ठाउँमा पुर्‍याउँदा हुन सक्ने क्षति तथा प्राविधिक त्रुटिका लागि थप पाँच प्रतिशत अर्थात् १६ सय १६ वटा सोलार गरी ३३ हजार नौ सय ४१ सोलार दिएको वातावरण मन्त्रालयका सहसचिव तथा सूचना अधिकारी डा.रामप्रसाद अधिकारीले जानकारी दिए ।

Advertisement

२०७२ वैशाखमा गएको भूकम्पपछि सरकारले चीनसँग अनुदानमा सोलार माग गरेको थियो । भूकम्पपीडित तथा दुर्गम क्षेत्रका स्थानीयलाई दिने गरी माग गरेको यो सोलार लिनेदिने विषयमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले सोही वर्षको चैतमा चीनसँग सम्झौता गरेका थिए । वातावरण मन्त्रालयले औपचारिक प्रक्रिया अगाडि बढाइसकेको यो सोलार ओली सरकारले सम्झौता गरेरै नेपाल भित्र्याउन पहल गरेको हो । यो सोलार तत्काल ल्याउने भनिए पनि दुई देशबीचको सहमति चरण, औपचारिक प्रक्रिया, नेपालकै निम्ति भनेर चीनले खरिद गर्न पुर्‍याएको प्रक्रियालगायत कारण एक साता अघि मात्रै काठमाडौं भित्रिएको हो ।

चीनले नेपाल भित्र्याएपछि नेपाल सरकार र चीनका प्रतिनिधिबीच सोलार हस्तान्तरणको औपचारिक सम्झौता गत शुक्रबार भएको लम्सालले जानकारी दिए । नेपाल भित्रिएको यो सोलार राष्ट्रिय प्रसारणमा नजोडिएका तथा दुर्गम क्षेत्रका भूकम्पपीडितलाई दिने गरी कार्यविधि पनि ल्याएको लम्सालले अन्नपूर्णसँग बताए । उनले भने, ‘सोलार भूकम्पबाट बढी प्रभावित भएका गोरखा, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, लमजुङ, दोलखा, काभ्रेसहित १२ वटा जिल्लामा वितरण गरिनेछ ।’

मन्त्रालयले भूकम्पपीडितलाई वितरण गर्ने चिनियाँ सोलारको कार्यविधि नै तय गरेर यो तथ्यांक तय गरेको छ । यो सोलार चीन सरकारले प्रतिस्पर्धा गराएर खरिद गरी नेपालाई दिएको हो । नेपालले करिब ४० करोड लागत अनुमान गरेका भए पनि चीन सरकारले जम्मा १९ करोड रुपैयाँ मात्रै खर्च लागेको बिलसमेत उपलब्ध गराएको छ । चीनले दिएको यो सोलारको प्रतिगोटा औसत लागत पाँच हजार पाँच सय रुपैयाँ छ । यही क्षमताको सोलार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत लिने हो भने कम्तीमा १५ देखि २० हजार खर्च हुने अनुमान गरिएको छ । चीनले भूकम्पपीडितका लागि गरेको सहयोग भएकाले पनि सस्तो दरमै उपलब्ध गराएको छ ।

संस्थागत रूपमा वितरण गरिने हरेक सोलारमा आठ वटा बत्ती बाल्न मिल्छ । १२ सय वाट क्षमताको सोलारबाट सम्बन्धित संघसंस्थाले बत्ती बाल्ने, कम्प्युटर चलाउने, प्रिन्ट गर्नेसहितको काम गरेर एउटा कार्यालय सञ्चालनमा सहजै प्रयोग गर्न सक्ने उल्लेख छ । व्यक्तिगत घरमा प्रयोग गरिने सोलारमा भने २० वाटको मात्रै भएकाले यसबाट तीन वटा बत्ती बाल्न सकिनेछ । चीनको नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसन नामक संस्थाबाट जनसंख्या तथा वातावरण मन्त्रालयलाई यो सोलार हस्तान्तरण भएको हो ।

सोलार जडान गर्र्न दुई करोड वातावरणमैत्री यो सोलार जडान गर्न मन्त्रालयले दुई करोड रुपैयाँ लागत अनुमान गरेको छ । सोलार ललितपुरको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा राखिएको छ । प्रयोगशालाको चौरमा राखिएको सोलार सम्बन्धित गाउँसम्म पुर्‍याउन र जडान गर्न अर्थ मन्त्रालय समक्ष दुई करोड रुपैयाँको बजेट माग गरिएको लम्सालले जानकारी दिए । यो रकम आएपछि वातावरण मन्त्रालयले आवश्यक जनशक्ति परिचालन गरेर सोलार जडान गर्नेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!