पोखरा, ९ माघ । आयोजक सहारा क्लबलाई ३–० गोलले हराउँदै सुदूरपश्चिम ११ ले आहा रारा गोल्डकपको १६ औँ संस्करणको विजयी शुरुवात गरेको छ ।

आज भएको प्रतियोगिताअन्तर्गत सुदूरपश्चिमका लागि धनबहादुर थापाले खेलको २५ औं मिनेटमा गोल गर्नुभएको थियो । त्यस्तै खेलको ७८ औँ मिनेटमा सुदूरपश्चिमका मनिराम चौधरीले गोल गर्दै अन्तरलाई दोब्बर बनाउनुभएको थियो ।

Advertisement

खेलको थप समयमा सुदूरपश्चिमकै राकेश हमालले गोल गर्दै विजय सुनिश्चित गराउनुभएको थियो ।

आजको खेलमा सुदूरपश्चिमका मनिराम चौधरी उत्कृष्ट खेलाडी घोषित बन्नुभयो ।
प्रतियोगितामा आधा दर्जनभन्दा बढी अवसर पाए पनि सहाराका खेलाडीले गोल गर्न सकेनन् ।

सहाराका प्रशिक्षक किरण श्रेष्ठले धेरै अवसर पाए पनि खेलाडीहरू गोल गर्ने अवसरबाट चुकेको बताउनुभयो ।

सुदूरपश्चिम ११ का प्रशिक्षक सुरेश हमालले आजको खेलमा विजयी बन्दा हर्षित बनेको बताउँदै आगामी खेलमा अझै उत्कृष्ट प्रदर्शन गर्ने दाबी गर्नुभयो ।

बुधबार भारतको सिक्किम युनाइटेड र धरान फुटबल क्लबबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दै आयोजक सहारा र सुदुरपश्चिमका खेलाडी । तस्बिरः वासुदेव पौडेल, रासस

सहारा क्लबले सञ्चालन गर्दै आएको एकेडमीको सहयोगार्थ सहारा क्लबले आहा रारा गोल्डकप प्रतियोगिता आयोजना गर्दै आएको छ ।

प्रतियोगिताको आज आयोजित उद्घाटन समारोहमा पोखरा लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीले पोखरामा यस किसिमको प्रतियोगिता हुनु आफैँमा महत्वपूर्ण रहेको बताउनुभयो ।

पोखरामा खेलकुदको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

आहा रारा गोल्ड कप प्रतियोगिताका विजेताले रु सात लाख र उपविजेताले रु तीन लाख ५१ हजार प्राप्त गर्ने छन् ।

हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा दर्शक आकर्षित गर्न प्रवेश टिकटमा भाग्यशाली दर्शकलाई हिरो ड्यास स्कुटर दिइने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!