काठमाडौं । सात सय ४४ वटै स्थानीय तहमा तत्काल कार्यकारी अधिकृत पठाउने अन्तिम तयारी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको छ । निर्वाचन आयोगले चैत ३ भित्र सबै गाउँपालिका र नगरपालिकामा कर्मचारी खटाइसक्नुपर्ने निर्देशन दिएपछि मन्त्रालयले उनीहरूलाई पठाउन लागेको हो ।

Advertisement

मन्त्रालयमा नपुग कर्मचारी सामान्य प्रशासन मन्त्रालयसँग माग गरेकामा सामान्य प्रशासनले सोमबारै ३ सय बढी अधिकृतको व्यवस्थापन मिलाएको छ । सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले स्थानीय तहमा पठाउने गरी २ सय ७० जना शाखा अधिकृत र ६० उपसचिवको व्यवस्थापन भइसकेको बताए । ‘उहाँहरूलाई पत्र दिने काम भइरहेको छ,’ उनले भने, ‘बाँकी कर्मचारी पनि साताभित्रै व्यवस्थापन भइसक्नेछ ।’
स्थानीय तहलाई खटाइएका सबै शाखा अधिकृत नयाँ लिइएका कर्मचारी हुन् ।

लोकसेवा उत्तीर्ण भएर स्टाफ कलेजमा तालिमरत २ सय ७० जनालाई सामान्य प्रशासन मन्त्रालयले पठाउने निर्णय लिएको हो । ६ महिने तालिममा रहका उनीहरू ३ महिना तालिमपछि विभिन्न जिल्ला र निकायमा काम सिक्दै थिए । अब मात्रै उनीहरूलाई जिम्मेवारीसहित खटाइन लागेको हो । सामान्यले स्थानीय तहमा पठाउन लागेका उपसचिवहरू पनि भर्खरै बढुवा भएका हुन् । फाइल बढुवा भएका तर नियुक्ति नपाएका ६० उपसचिवलाई स्थानीयमा खटाउने निर्णय भएको न्यौपानेले बताए ।

स्थानीय मन्त्रालयले २ सय ७० जना शाखा अधिकृत, १ सय ८० जना उपसचिव र ३ सहसचिव माग गरेको छ । ‘मागअनुसार शाखा अधिकृत पुगेको छ, सहसचिव पठाउन समस्या छैन,’ न्यौपानेले भने, ‘आवश्यक बाँकी उपसचिव विभिन्न मन्त्रालयबाट लिनेछौं ।’ सामान्यले बढी उपसचिवको दरबन्दी भएका गृह, भूमिसुुधार र सञ्चार मन्त्रालयसँग विवरण मागेको छ । शिक्षा मन्त्रालयले पनि आफूसँग भएका उपसचिवलाई खटाउन सकिने प्रस्ताव गरेको छ । सकेसम्म मिल्दो सेवा समूहबाटै कर्मचारीको खोजीमा सामान्य प्रशासन मन्त्रालय जुटेको छ । ‘स्थानीय तहमा जाने कर्मचारी सामान्य प्रशासन समूहका हुन्, पहिलो विकल्प मिल्दो समूहबाटै कर्मचारी खोज्दै छौं,’ प्रवक्ता न्यौपानेले भने, ‘नियमित काममा प्रभावित नहुने गरी कुन–कुन मन्त्रालयबाट उपसचिव झिक्न सकिन्छ भन्ने गृहकार्यमा छौं ।’

सामान्य प्रशासनले कर्मचारी पठाएकाले स्थानीयले धमाधम उनीहरूको सूची बनाएर जिम्मेवारी तोक्न थालेको मन्त्रालयका प्रशासन महाशाखा प्रमुख चक्रबहादुर बुढाले बताए । ‘सकेसम्म चैत ३ भित्र सबैतिर कार्यकारी अधिकृत पठाइसक्छौं,’ उनले भने । सामान्यले कर्मचारी पठाएपछि सोमबारदेखि स्थानीय मन्त्रालयमा नयाँ कर्मचारीको चहलपहल बढेको छ ।

उनले ४ वटा महानगरमा सहसचिव, १३ उपमहानगर र २४६ नगरपालिकामा उपसचिव पठाइने बताए । त्यस्तै ४८१ गाउँपालिकामा कार्यकारी अधिकृतको जिम्मेवारी शाखा अधिकृतलाई दिने तयारी छ । ‘मन्त्रालयको विभिन्न निकायमा रहेका र सामान्यले पठाउने प्रतिबद्धता जनाएको कर्मचारीसमेत गर्दा कार्यकारी अधिकृत पठाउन समस्या रहेन,’ उनले भने, ‘स्थानीय मन्त्रालयमा रहेका उपसचिवको संख्यासमेत घटाएर केही व्यवस्थापन गर्ने छलफल भइरहेको छ ।’

मन्त्रालयले गाउँपालिका/नगरपालिकामा कार्यकारी अधिकृत नपुगन्जेलसम्मका लागि तत्काललाई गाभिएका गाविसमध्येका वरिष्ठ सचिवलाई कार्यकारीको जिम्मेवारी दिएको छ । स्थानीयले पहिलो चरणमा कार्यकारी अधिकृतकै व्यवस्थापनमा जुटेकाले त्यसमुनि खटिने कर्मचारीबारे अझै छलफल बढाइसकेको छैन । प्रवक्ता न्यौपानेले स्थानीय तहमा खटिने नायब सुब्बा र खरिदारस्तरका कर्मचारीको विषयमा छलफल सुरु भइनसकेको बताए ।

यसैबीच, मुख्यसचिव सोमलाल सुवेदीले स्थानीय तहमा कर्मचारी खटाउन सामान्य प्रशासन मन्त्रालयले गरिरहेको गृहकार्यमा सघाउन सबै मन्त्रालयका सचिवलाई निर्देशन दिएका छन् । सोमबार उनले बोलाएको सचिवहरूको बैठक मुख्य रूपमा स्थानीय तहलाई क्रियाशील बनाउन र निर्वाचनलाई सघाउने विषयमा केन्द्रित रहेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता दामोदर रेग्मीले बताए । राजेश मिश्रले लेखेको यो समाचार ईकान्तिपुरमा छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!