रासस

काठमाडौँ, ६ माघ। नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले प्रदेशको अस्थायी मुकामको विषयलाई लिएर अहिले विवाद, बखेडा झिकेर आन्दोलन गर्नु उपयुक्त नहुने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो– अस्थायी राजधानी स्थायी रहँदैनन् । प्रदेशले यो बारेमा आफैँले निर्णय गर्नेछ, यद्यपि प्रदेशको राजधानी तोक्नेबारेमा सरकारले भने राम्रो ढंगले बुद्धि पु¥याएन ।

प्रदेश प्रमुख वर्तमान सरकारले नै नियुक्ति गर्ने हो, नियुक्ति गरिएको विषयलाई हामीले कुनै आश्चर्य र अनौठो ढंगबाट लिएका छैनौँ, अब प्रदेशको प्रक्रिया अघि बढ्छ, उहाँहरुको काम र क्रियाकलापलाई हेर्दै प्रदेश प्रमुखहरु पदमा कति रहन्छन् वा रहन्नन् भन्ने कुरा आगामी सरकारले निर्णय गर्नेछ, उहाँले भन्नुभयो ।

लामो संघर्षमय जीवन भएको, लोकतान्त्रिक आन्दोलनमा लामो योगदान भएको र राष्ट्रको महत्वपूर्ण नेतृत्व पंक्तिमा बसेर काम गरेको व्यक्तिलाई राष्ट्रपति जस्तो गरिमामय पदमा पठायो भने राष्ट्रकै निम्ति महत्वपूर्ण हुनेछ भन्दै वरिष्ठ नेता खनालले भन्नुभयो– पार्टीले दिने जिम्मेवारीलाई दृढतापूर्वक पालना गर्छु, जे जिम्मेवारी दिए पनि पालना गर्न सक्छु, जिम्मेवारी मबाट शिरोधार्य हुनेछ ।

आगामी फागुनको दोस्रो साता एमालेको नेतृत्वमा गठन हुने सरकारले लोकतन्त्रलाई संस्थागत गर्ने, व्यापक गर्ने र जनजनमा पु¥याएर दिगो बनाउने, मुलुकको सार्वभौमसत्ता र अखण्डताको सुदृढीकरण गर्ने, सामाजिक आर्थिक रुपान्तरणलाई तीव्र तुल्याउने, विविधतायुक्त वैभवलाई विकास गरी समृद्ध गर्ने र अन्तरराष्ट्रिय जगत्सँगको सम्बन्धलाई सुदृढ तुल्याउने कामलाई प्राथमिकतामा राखेर काम गर्नेछ – उहाँले भन्नुभयो ।

मुलुकबाट बेरोजगारी, गरिबी, अविकास, रोगब्याधी, निरक्षरतालाई उन्मूलन गर्नु आगामी सरकारका लागि अवसर र चुनौती रहेको बताउँदै वरिष्ठ नेता खनालले समृद्ध र खुशी नेपालको लक्ष्य हासिल गर्ने ढंगले आगामी सरकारले काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!