काठमाडौं, माघ ५ । स्वतन्त्र मधेश अभियानका संयोजक सिके राउत फेरी पक्राउ परेका छन् । राउतलाई धनुषाको माथाबजारस्थित आफ्नै डेराबाट प्रहरी निरीक्षक राजकिशोर शाह नेतृत्वको टोलीले पक्राउ गरेको बताइएको छ ।

Advertisement

उनले केही वर्षदेखि मधेसमा छुट्टै राज्यका लागि ‘स्वराज’ अभियान चलाइरहेका छन्। यसअघि पनि प्रहरीले उनलाई पटकपटक पक्राउ गर्दै छोड्दै गरेको थियो।

नेपालबाट मधेसलाई अलग गर्नु पर्छ भन्ने माग अघिसार्दै तराईमा गतिविधि गरेको आरोपमा राउतविरुद्ध राज्यविप्लवको मुद्दा दायर भएको थियो। उक्त मुद्दामा राउतलाई विशेष अदालतले धरौटीमा रिहा गरेको थियो।

को हुन् राउत?

सप्तरीको महदेवा गाउँमा जन्मेका राउत अमेरिकामा वैज्ञानिकका रूपमा कार्यरत रहँदा रहँदै सन् २०११ को अन्त्यतिर राजीनामा दिई नेपाल फर्किएका हुन्। युवा इन्जिनियर पुरस्कार, महेन्द्र विद्याभूषण, कुलरत्न गोल्डमेडल, ट्रफिमेन्‌कफ एकाडेमिक एचिभमेन्ट अवार्ड जस्ता सम्मानबाट उनी विभूषित भएका थिए।

उनी अमेरिकामा दर्ता गरिएका तथा मधेशी हक-हितका लागि अन्तर्राष्ट्रिय स्तरमा कार्यरत गैर-आवासीय मधेशी संघका संस्थापक अध्यक्ष पनि हुन्।

पुल्चोक क्याम्पसमा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरेर एउटा इन्जिनियरिङ क्याम्पसमा केही समय विभागीय प्रमुखका रुपमा काम गरेका उनी आफूलाई सोध्दै नसोधी सहायक विभागीय प्रमुख बनाएपछि राजीनामा दिएर हिँडे। त्यसपछि जापान सरकारले दिने गरेको मोनबूशो स्कलरशीपमा जापान गए।

जापानबाट फर्किएपछि सन् २००४ को अगस्तमा गेरू वस्त्र लिएर घरबाट निस्केका राउतसित कहाँ जाने कुनै योजना थिएन। भगवान खोज्ने भन्दै भारतका कलकत्ता, मद्रास, कन्याकुमारी, मधुराइ, बेंगलोर र रामेश्वरम् हुँदै साईबाबाको पुट्टपर्तीस्थित प्रशान्ति निलयमसम्म पुगे।

आत्मकथा बैरागदेखि बचाउसम्ममा उनले त्यही क्रममा पहिचानको ब्रह्मज्ञान भेट्टाएको बताएका छन्।

एक महिनापछि उनी फेरि जापान फर्किए। जापानमा कोर्सको अन्तिमतिर उनी बिरामी भए। अस्पतालमै उनले आफ्नो थेसिस लेखे, थेसिसको डिफेन्स गर्न एक जापानी साथीले अस्पतालबाट डिपार्टमेन्टसम्म उनलाई ह्ववीलचेयरमा लग्नुपरेको थियो।

जापानमा मास्टर्स डिग्री पूरा गरेपछि बेलायतको क्याम्ब्रिज यूनिवर्सिटीमा विद्यावारिधि गर्न आवेदन दिएर छनौट भए।

पहिलो पटक इन्जिनियरिङ पढ्न काठमाडौँ आउँदा यहाँ ऋतिक रोशन कान्ड भएको थियो भने जापानमा फर्कने क्रममा इराकको आतंकवादी संस्थाले नेपालीहरुको हत्या गरेपछि काठमाडौँमा दङ्गा भड्किएको थियो। ती दुवै घटनालाई उनले मधेसीमाथि भएको दमनका रुपमा लिएका छन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!