काठमाडौँ– सिङ्गो उपत्यकाको अपराध अनुसन्धान गर्ने जिम्मा पाएको महानगरीय अपराध महाशाखा र पुलिस युनिफर्ममा सजिएर हरेक सेकेन्ड काठमाडौँको चोकदेखि गल्लीसम्म खटिने काठमाडौँ प्रहरीको मुख्यालय वर्षौंदेखि एकैठाउँमा छ । दुवै निकायमा समान हैसियतका प्रहरी अफिसर (एसएसपी) ले कमान्ड गर्दै आएका छन् ।

Advertisement

कार्यालय एकै ठाउँमा भए पनि समान दर्जाका प्रहरी अफिसरको दरबन्दीका कारण पटक–पटक यी दुई निकायबीच मनमुटाव हुने गरेको थियो । कतिपय समयमा एउटा अपराधी समात्न प्रहरीको दुई टोली पुग्दा कामको जस कसले लिने भन्नेमा मतभेद देखिन्थ्यो ।

एक महिनायता दुवै निकायको नेतृत्व फेरिएको छ । नेतृत्व फेरिएको करिब एक महिनापछि काठमाडौँ प्रहरी प्रमुख (एसएसपी) छविलाल जोशी र महाशाखा प्रमुख (एसएसपी) दिनेश अमात्यले एउटै स्वरमा काठमाडौँका १६१ गुण्डाको सूची बनाएर निगरानी सुरु गरिएको भन्दै पत्रकार सम्मेलन नै गरे ।

यसअघिका काविल प्रहरी अफिसर भनेर चिनिएका रमेश खरेल हुन् या सर्वेन्द्र खनाल दुवैले आफूले मात्र कामको जस लिनेगरी काठमाडौँका गुण्डाहरुमाथि कारवाही गर्ने गरेका थिए ।

काठमाडौँ परिसरमा विक्रम सिंह थापा हुँदा खनाल महाशाखा प्रमुख थिए । त्यतिबेला एउटै अपराधी समाउन दुई निकायका प्रहरी एकसाथ पुग्ने गरेको किस्सा आजभोलि पनि टेकुका चिया दोकानहरुमा सुन्न पाइन्छ ।

‘हाम्रो उद्देश्य एउटै हो’, महाशाखा प्रमुख (एसएसपी) दिनेश अमात्यले भने, ‘त्यसैले हामीले गुण्डागर्दी लगायतका अपराध नियन्त्रणमा सँगै जाने योजना बनाएका छौँ ।’

महाशाखा र काठमाडौँ प्रहरीले गुण्डाहरुलाई तीन श्रेणीमा वर्गीकरण गरेर हिटलिस्ट तयार पारेको छ । ‘ए’ श्रेणीको सूचीमा पटक–पटक अपराधमा संलग्न भएका गुण्डा नाइकेहरुलाई राखिएको छ । दुई–चार पटक जेलको यात्रा गरेर छुटेपछि पनि गुण्डागर्दी नछाडेकाहरुलाई ‘बी’ र टोले गुण्डाहरुलाई ‘सी’ श्रेणीमा राखिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रधुम्न कार्कीले जानकारी दिए ।

प्रहरीले वर्गीकरण गरेको ‘ए’ लेभलका गुण्डाहरु

१. मिलन गुरुङ ‘चक्रे’
२. साजन महर्जन
३. तेजेन्द्र गुरुङ
४. राजु गोर्खाली
५. दावा लामा
६.गणेश लामा
७. समिर मानसिंह बस्नेत
८. बाघबहादुर लामा ‘बाघे’
९. सुजन पौडेल ‘रमेश बाहुन’
१०. दीपक मनाङे

प्रहरीले वर्गीकरण गरेको ‘बी’ लेभलका गुण्डाहरु
१. रिनझिन शेर्पा ‘रिङ्की पिङ्की’
२. निराजन पौडेल
३. राजेश महर्जन
४. मानबहादुर तामाङ
५. भीमराज घले
६. शोभित तामाङ
७. राज तामाङ
८. चन्द्र लामा
९. शुरेश महर्जन
१०. तेजेन्द्र रायमाझी
११. निरज लामा
१२. छिरिङ शेर्पा
१३. राजु भण्डारी

सबैभन्दा चम्केका दावा, जेल बसेका ‘बाहुन’ पनि प्रहरीको सूचीमा

पछिल्लो समय काठमाडौँमा सबैभन्दा धेरै चम्केका गुण्डा हुन् काभ्रेली समूहका दावा लामा । ज्यान मार्ने उद्योग, अपहरण र लागू औषधमा जेलजीवन भोगेर निस्केका दावा पछिल्लो समय राजनीतिक संरक्षणमा गुण्डागर्दीमा चम्केको अपराध महाशाखाका एक उच्च अधिकारीले जानकारी दिए । काङ्ग्रेसको संरक्षणमा गुण्डागर्दी गर्दै आएका दावाले केही समयअघि मात्रै दरबारमार्गस्थित क्लब डेजावुका सञ्चालक अर्का गुण्डा नाइको राम गिरीलाई उनकै रेस्टुरेन्टमा पुगेर आक्रमण गरेका थिए ।

केही वर्षअघि पूर्व प्रधान सेनापति छत्रमानसिंह गुरुङका छोरा प्रबलमानसिंह गुरुङलाई समेत कुटपिट गरेका दावालाई काङ्ग्रेस सांसद तीर्थ लामाले संरक्षण गरेको बताइएको छ ।

प्रहरीले जेलमा रहेका ‘रमेश बाहुन’लाई पनि ‘क’ श्रेणीको गुण्डाको सूचीमा राखेर निगरानी गरिएको जानकारी दिएको छ । सुजन पौडेल उर्फ रमेश बाहुन लागू औषध, हातहतियार तथा खरखजाना मुद्दामा हाल केन्द्रीय कारागार जैसिदेवलमा सजाय काटिरहेका छन् ।

यसअघि त्यति नाम नचलेका साजन महर्जनलाई प्रहरीले ‘क’ वर्गको गुण्डाको सूचीमा राखेको छ । साजन गोंगबु क्षेत्रलाई आधार बनाएर गुण्डागर्दीमा संलग्न छन् ।

चक्रे मिनलका सहोदर भाइ तेजेन्द्र गुरुङ पनि राजनीतिक आवरणमा चम्केका गुण्डा हुन् । महाराजगञ्ज क्षेत्रमा सक्रिय तेजेन्द्र तरुण दलको राजनीति गर्नुका साथै खेलकुद क्षेत्रमा पनि सक्रिय छन् ।

आफूलाई रिङ्की पिङ्की शेर्पा भनेर चिनाउने रिनझिन शेर्पा धापासी क्षेत्रका गुण्डा हुन् । प्रहरीले उनलाई ‘बी’ श्रेणीमा राखेर निगरानी गरिहेको छ । ‘बी’ श्रेणीमै रहेका निराजन पौडेल बसुन्धरा क्षेत्रमा, मानबहादुर तामाङ बाँसबारी क्षेत्रमा, भीमराज घले सामाखुसी क्षेत्रमा सक्रिय छन् । शोभित तामाङ नयाँ बसपार्क क्षेत्रमा, राज तामाङ जोरपाटी क्षेत्रमा, चन्द्र लामा पुरानो बानेश्वर, सुरेस महर्जन कीर्तिपुर तथा राजु भण्डारी बालुवाटार क्षेत्रमा सक्रिय रहेको प्रहरीले जनाएको छ ।

‘ए’ लेभलका गुण्डा समिर मानसिंह बस्नेत काठमाडौँ प्रहरीको फरार सूचीमा छन् । बस्नेत काठमाडौँको बाफलका स्थायी बासिन्दा हुन् । इचङ्कुनारायणमा स्थायी बसोबास गर्दै आएका बाघबहादुर लामा ‘बाघे’, कोटेश्वर बस्ने गणेश लामा तथा ठमेल बस्ने दीपक मनाङङ्गेमाथि समेत उच्च निगरानी सुरु गरिएको प्रहरीले जनाएको छ ।

‘गुण्डाहरुको फिङ्गगर प्रिन्ट र फोटो पनि नयाँ लिँदै छौँ’ काठमाडौँ प्रहरी प्रमुख छविलाल जोशीले भने, ‘हाम्रो पुरानो रेकर्डमा भएको फोटो र फिङ्गर प्रिन्ट निकै पुरानो भइसकेको रहेछ, अहिले ३० जना भन्दा बढीको अपग्रेट गरिसकेका छौँ ।’ राजेश भण्डारीले रातोपाटीमा यो समाचार लेखेका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!