काठमाडौं, ४ माघ । कान्तिपुरले भित्री पृष्ठमा नेपाली सेनाले भद्रकालीस्थित मुख्यालयभित्र काठमाडौं महानगरपालिकाबाट नक्सापास नै नगराई ठूला भवनहरू बनाइरहेको समाचार छापेको छ । नक्सापास गर्न बारम्बार पत्राचार गर्दासमेत सेना सम्पर्कमा नआएको महानगरको आरोप छ ।
सेनाको मुख्यालयभित्र ठूला-ठूला भवन, स्टेडियम र पुस्तकालय बनाइएको छ । त्यस्तै ट्रमा सेन्टरसँगैको त्रिचन्द्र मिलिटरी हस्पिटल भत्काएर सेनाले नौ तले बिजनेस कम्प्लेक्स बनाएको छ । यसको पनि नक्सापास नभएको महानगरले जनाएको छ । सेनाले महानगर भवन अगाडि पुस्तकालयका लागि सेतो घर बनाएको छ । त्यो घरको पनि नक्सापास भएको छैन ।
घर निर्माणअघि नै कस्तो र कुन प्रयोजनका लागि बनाउने भन्ने ‘डीपीसी’ सम्मको स्वीकृत लिनुपर्ने हुन्छ । डीपीसीसम्म काम पूरा भएपछि कति तला, ‘स्ट्रक्चर’ कस्तो हुने भन्ने यकिन गर्नुपर्ने हुन्छ । तर जंगीअड्डाले नक्सापाससमेत नगरी धमाधम ठूला महल बनाइरहेको समाचारमा उल्लेख छ । ‘नक्सापास गर्नुको त टाढाको कुरा, सम्पर्कमा आउनुस् भन्दासमेत अटेर भइरहेको छ,’ काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले कान्तिपुरसँग भनेकी छन्, ‘जनता र सरकार सबैलाई समान नियम लाग्छ । म आर्मी हुँ, नियम लाग्दैन भन्ने हँुदैन । सेनाले बनाएको कुनै पनि संरचनाको नक्सापास भएको छैन ।’ नक्सापास नगरेपछि रक्षामन्त्रीलाई समेत गुहारेको उनले बताएकी छन् ।















