बागलुङ, ३ माघ। जिल्लाको जैमिनी नगरपालिकाले आफ्नो कार्यक्षेत्रका सबै विद्यालयमा सडकको पहुँच विस्तार गर्ने भएको छ । चालु आवभित्र नगरभित्रका सबै माध्यमिक तहका विद्यालयमा सडक पुग्ने नगरपालिकाले जनाएको छ ।

आउँदो दुई वर्षभित्र आधारभूत तहका सबै विद्यालयमा सडक पु¥याउने योजना नगरपालिकाले बनाएको छ । विद्यालयलाई सडक सञ्जालमा जोड्न प्राथमिकताका साथ काम भइरहेको नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले बताउनुभयो ।

Advertisement

“मावि तहका एउटाबाहेक सबै विद्यालय सडकसँग जोडिएका छन्”, प्रमुख पौडेलले भन्नुभयो, “आधारभूत तहका विद्यालयमा आउँदो दुई वर्षभित्र सडक पु¥याउने लक्ष्य छ ।” मावि तहमा वडा नं ७ जैदीको संस्कृति मावि मात्र अहिले सडकको पहुँचबाट बाहिर छ । उक्त विद्यालयमा पनि आउँदो केही महिनामा सडक पुगिसक्ने प्रमुख पौडेलको भनाइ छ ।

विद्यार्थीको आवतजावतमा सहजताका साथै शैक्षिक सुधारमा टेवा पुग्ने ठानेर नगरपालिकाले विद्यालयलाई सडक सञ्जालसँग जोड्ने योजना बनाएको हो । नगरभित्र निर्माणाधीन सडकबाट सहायक मार्ग खोलेर विद्यालयमा पु¥याइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णप्रसाद सुवेदीले बताउनुभयो ।

चालु आवमा नगरपालिकाले ठूलो बजेट सडक विस्तारका लागि विनियोजन गरेको उहाँको भनाइ छ । ब्याडथला–छिस्ती कृषि सडकमा रु ५० लाख, जैदी–फुर्के सल्ला सडकमा रु २५ लाख र अन्य सडक योजनामा पनि यथेष्ट बजेट छट्याइएको अधिकृत सुवेदीले बताउनुभयो । तिनै ठूला सडक योजनाको बजेटबाट नजिकको विद्यालयसम्म पुग्ने सहायक मार्ग खोलिनेछ ।

सडकको विस्तारले विद्यालयसम्म समुदायको पहुँच पनि बढाउने जैमिनी नगरपालिकाका नगर शिक्षा अधिकृत खेम आचार्यले बताउनुभयो । “विद्यार्थीको आवतजावत सहजताका साथै नियमित अनुगमन, निरीक्षणलाई पनि सडकको पहुँचले सघाउँछ”, उहाँले भन्नुभयो ।

जैमिनी नगरपालिकाभित्र कूल ८० विद्यालय र ६८ बालविकास केन्द्र रहेका छन् । १५ मावि र बाँकी सबै आधारभूत तहका विद्यालय रहेको अधिकृत आचार्यले जानकारी दिनुभयो । शिक्षाको क्षेत्रमा भौतिक पूर्वाधारका साथै शैक्षिक सुधारका योजना पनि नगरपालिकाले अघि सारेको छ ।

शैक्षिक योजना निर्माण र नियमावली बनाउने काम अघि बढेको नगरपालिकाका प्रमुख पौडेलले बताउनुभयो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न विशेष योजना बनाएर काम गरिने उहाँको भनाइ छ ।

नगरपालिकाले शिक्षासँगै सडक, स्वास्थ्य, भौतिक पूर्वाधार विकास लगायतलाई प्रमुख प्राथमिकतामा राखेको छ । जिल्ला सदरमुकामबाट नजिकको नगरपालिका भएर पनि जैमिनी विकासमा वर्षौंदेखि पछाडि पर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!