नागरिक

चितवन, २९ पुस । रातमा छ घण्टा बन्द हुने गरेको निर्माणधिन नारायणगढ मुग्लिन सडक आज शनिबारदेखि चार दिन चौबिसै घण्टा सञ्चालन हुने भएको छ। चितवन जिल्ला ट्राफिक कार्यालयले शनिबार सूचना जारी गरेर सो जानकारी गराएको हो। माघे संक्रान्तिको समय परेका कारण बाटो चौबिसै घण्टा खुला हुने बताइएको छ।

‘पुस २९, ३० र माघ एक तथा दुई गते नारायणगढ मुग्लिन सडक सातमा पनि खुला नै रहनेछ’ चितवन जिल्ला ट्राफिक कार्यालयले निकालेको सूचनामा उल्लेख छ । सडक निर्माणलाई तिब्रता दिनभन्दै पुस १८ गतेदेखि रातको १० बजेदेखि बिहानपख चार बजेसम्म सडक बन्द हुने गरेको थियो ।

माघे संक्रान्तिमा चितवन र तनहुँमा रहेको देवघाटधाममा नुहाउन देशका विभिन्न ठाउँ लगायत भारतसम्मका भक्तहरु आउँछन् । त्रिशुली र काली गण्डकीको संगम स्थल देवघाटधाममा नुहाउनेहरु लाखौं हुन्छन् । देवघाट नुहाउन आउनेहरुका कारण गाडीको चाप अरु बेलाको भन्दा निकै नै बढ्ने गर्छ । त्यसैले बाटो बन्द नगरेको अधिकारीहरुले बताएका छन्।

देशको राजधानी काठमाडौंको जीवन रेखा मानिएको सो सडकमा दैनिक १० हजारको हाराहारीमा गाडी गुड्छन् । सो सडक खण्डलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउन सन् २०१५ को अप्रिलदेखि काम सुरु भएको हो । तर अहिलेसम्म लगभग दुई तिहाई काम मात्रै सकिएको छ। ३६ किलो मिटर सो सडक पार गर्न घण्टौं लाग्ने गर्छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!