देवघाट, पुष २८ । धार्मिकस्थल देवघाटमा माघे संक्रान्ति मेलाको तयारी तीव्ररुपमा गरिएको छ । बर्सेनि माघ १ गते तनहुँ र चितवनको संगमस्थल देवघाटमा माघे संक्रान्ति मेला लाग्दै आएको छ ।

Advertisement

मेला व्यवस्थापनको तयारी गर्न देवघाट क्षेत्र विकास समितिले १ सय ५१ सदस्यीय मेला व्यवस्थापन समिति गठन गरेको छ । समितिले यतिबेला धमाधम मेलाको तयारी गरिरहेको छ । सडक डिभिजन कार्यालय भरतपुरले देवघाट मेलामा जाने सडकको निर्माण कार्य सुरू गरेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिए ।

देवघाट मेलाअवधि भर बिजुली नजाने व्यवस्था गरिएको छ । ‘बिजुलीको समस्या नहोस् भनेर विद्युत् प्राधिकरण भरतपुरले बढी क्षमताको ट्रान्समिटर जोडेको छ’ अध्यक्ष पौडेलले भने । मेलालाई थप व्यवस्थित बनाउन विभिन्न उपसमितिहरु गठन गरिएको उनले जानकारी दिए । मेलामा धुनी लगाउने ठाउँको व्यवस्थापन गरिएको छ । आकस्मिक उद्धार एवम् सुरक्षाको व्यवस्थापन, प्राथमिक स्वास्थ्य उपचार, शौचालय, बिजुलीलगायतको व्यवस्थामा कुनै कमजोरी नहुने गरी काम गरिएको अध्यक्ष पौडेलले जानकारी दिए ।

‘अन्य वर्षहरुमा भन्दा यस वर्ष मेला वृहत् बनाउन लागिएको छ’ अध्यक्ष पौडेलले भने, ‘मेलास्थलमा चितवनतर्फबाट २ वटा बाटो खुला गरिएको छ ।’ काठमाडौँ, पोखराबाट आउने दर्शनार्थीहरुले दासढुंगाको बाटो भएर देवघाट मेलामा आउनेछन् । पूर्वबाट आउने दर्शनार्थीहरुले रामनगरको बाटो भएर देवघाट मेलामा पुग्नेछन् । मेलाबाट फर्कने दर्शनार्थीहरुले आँपटारीको बाटो प्रयोग गर्नेछन् ।

यस वर्ष वृद्धवृद्धालाई लाइनमा बस्न नपर्ने व्यवस्था गरिएको छ । डुंगा र ¥याफ्टिङ सयरमा असक्त, अपाङ्ग, वृद्धवृद्धाहरुलाई निःशुल्क गरिएको छ । मेला स्थलमा हिन्दी गीतहरु बजाउन र नाच्न पाइने छैन । मदिरा, धुमपान, मद्यपान र मासु सेवनलाई रोक लगाइएको छ । मेलास्थलमा निषेध गरिएको मदिरा सेवन गरे प्रशासनले नियन्त्रणमा लिने देवघाट मेला व्यवस्थापन समितिले जनाएको छ । मेला स्थलमा भक्तजनको सुरक्षाको लागि पर्याप्तमात्रामा सुरक्षाकर्मी खटाइनेछ ।

रामनगर, दासढुंगा, ठिमुरा र आँपटारीमा प्रवेशद्वार बनाइने छ । मेलाको केहि दिन अगाडिबाटै दर्शनार्थीहरुको आगमन हुने हुँदा त्यहीअनुसारको व्यवस्थापन गरेको अध्यक्ष पौडेलले बताए । उनका अनुसार मेला स्थलमा व्यवसाय गर्नेहरुले चर्को मूल्यमा सामग्रीहरु बेचबिखन भएको गुनासो बढेपछि यस वर्ष मेला व्यवस्थापन समितिले नै मुख्य सामग्रीहरुको मूल्य तोक्ने छ । ‘कालो चिया १० रुपैयाँ, पानी २० रुपैयाँ, दूध हालेको चिया १५ रुपैयाँ भन्दा बढी लिन पाउँदैनन्’ अध्यक्ष पौडेलले भने, ‘कुनै व्यवसायले तोकिएको मूल्यभन्दा बढी रकम लिए कारबाही हुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!