काठमाडौं,२८ पुस । राष्ट्रियसभा निर्वाचनको मिति र निर्वाचन केन्द्रसमेत तोकिएपछि अब दलहरुले आ-आफ्नो मत संख्या जोड्न थालेका छन् । राष्ट्रियसभा निर्वाचन प्रदेशगतरुपमा हुने भएकाले ५६ जनाको चुनाव भए पनि प्रत्येक प्रदेशका मतदाताले आफ्नो प्रदेशका उम्मेदवारलाई मात्र मत दिन पाउनेछन् ।
प्रत्येक प्रदेशका तीन महिला र तीन खुला सदस्यको निर्वाचन एकल संक्रमणीय प्रणाली अनुसार भए पनि दलित र अपांग/अल्पसंख्यकको निर्वाचन भने बहुमतीय प्रणालीबाटै हुनेछ । राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभामा निर्वाचित तथा समानुपातिक सांसदहरुले मतदान गर्नेछन् ।
स्थानीय तहका निर्वाचित प्रमुख उपप्रमुख र प्रदेश सांसदहरुको संख्या अनुसार २ नम्बर प्रदेश बाहेक अन्य सबै प्रदेशमा बामपन्थी गठबन्धन बहुमत छ । प्रदेश नम्बर १,३, र ६ मा एमालेको एकल बहुमत देखिएको छ । प्रदेश २ मा भने संघीय समाजवादी फोरम र राजपा मिल्दा उनीहरुको बहुमत हुने देखिन्छ ।
स्थानीय तहमा लोकतान्त्रिक फोरमबाट जितेका प्रमुख र उपप्रमुखहरुमध्ये रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ल बाहेक अन्यलाई कांग्रेसका मतदातामा गनिएको छ । शुक्ल भने एमाले प्रवेश गरिसकेका छन् । त्यस्तै डोल्पाका तीनजना स्वतन्त्र प्रमुख उपप्रमुख पनि चुनाव लगत्तै एमाले प्रवेश गरेका कारण एमालेका मतदातामा गनिएको छ ।
मुस्ताङमा स्वतन्त्र जितेका गाउँपालिका अध्यक्ष पनि एमाले प्रवेश गरेका छन् भने मनाङमा प्रदेशसभामा स्वतन्त्र जितेका राजिव गुरुङले आफू एमालेकै प्रतिनिधि भएको दावी गरेका कारण उनलाई पनि एमालेको मतदातामा राखिएको छ ।
तर, राष्ट्रियसभामा स्थानीय तह र प्रदेशसभाका प्रतिनिधिले दिएको मत भने बराबर गनिदैन । एकजना प्रदेशसभा सदस्यको मत ४८ गनिनेछ भने स्थानीय तहका एकजना मतदाताको मत १८ गनिनेछ ।
स्थानीय तहमा एमालेभन्दा केही सिटले पछि परेको कांग्रेस प्रदेशसभामा भने धेरै पछाडि छ । धेरै मतभार हुने प्रदेशसभामा कांग्रेस कमजोर भएका कारण एकल संक्रमणीयबाट पनि कांग्रेसले धेरै लाभ पाउने सम्भावना छैन ।
प्रदेश नम्बर १ः
स्थानीय तहः प्रदेश नम्बर १ मा स्थानीय तह र प्रदेशसभा दुवैतिर एमालेको एकल बहुमत छ । एमालेले स्थानीय तहमा प्रमुख र उपप्रमुख गरि १५३ जना जितेको छ भने भने प्रदेशसभामा प्रत्यक्षतर्फ ३६ सिट जितेको छ । त्यस्तै समानुपातिकतर्फ एमालेले १५ सिट पाउँदामा ५१ जना मतदाता छन् ।
१ नम्बर प्रदेशबाट एमालेको कुल मतदाता संख्या २०४ छ । जुन कुल मतदाता संख्याको बहुमत हो । १ नम्बर प्रदेशमा माओवादीको मत स्थानीय तहमा २० मात्र छ । प्रदेशसभामा प्रत्यक्ष निर्वाचित १० र समानुपातिक ५ गरि १५ जना मतदाता छन् । माओवादीको कुल मत ३५ समेत थपिँदा बामपन्थी गठबन्धनको पक्षमा २३९ मत हुनेछ ।
कांग्रेसको पक्षमा स्थानीय तहका प्रमख र उपप्रमुख ९७ जना र प्रदेशसभाका प्रत्यक्ष निर्वाचित ८ र समानुपातिक १३ गरि २१ मतदाता छन् । कांग्रेसका कुल मतदाता ११८ रहेका छन् भने संघीय समाजवादी फोरमका स्थानीय तहमा ४ र प्रदेशसभामा ३ गरि ७ जना मतदाता छन् ।
प्रदेश नम्बर २ः
प्रदेश नम्बर २ मा कुनै पनि दलको बहुमत छैन । स्थानीय तहको मतमा कांग्रेस अगाडि भए पनि प्रदेशसभामा मधेशवादी गठबन्धन मिलेर लड्दा उनीहरुको बहुमत छ । वामपन्थी गठबन्धन यहाँ दोस्रो स्थानमा छ ।
प्रदेश नम्बर २ मा स्थानीय तहमा कांग्रेसका ७२ मतदाता छन् । प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ८ र समानुपातिक ११ गरि १९ मतदाता छन् । कुल मिलाएर कांग्रेसका ९१ मतदाता २ नम्बर प्रदेशमा छन् ।
एमालेका स्थानीय तहमा ४० र प्रदेशसभामा प्रत्यक्ष निर्वाचित १४ र समानुपातिक ७ गरि २१ सदस्य छन् । २ नम्बर प्रदेशमा एमालेका कुल मिलाएर ६१ मतदाता हुनेछन् । त्यस्तै माओवादीका स्थानीय तहमा ४४ र प्रदेशमा ११ गरि ५५ मतदाता छन् । वामपन्थी गठबन्धनको पक्षमा यो प्रदेशबाट ११६ मतदाता हुनेछन् ।
राजपाका स्थानीय तहमा ५४ प्रमख उपप्रमुख छन् । त्यस्तै प्रदेशसभामा प्रत्यक्ष निर्वाचित १५ र समानुपातिक १० गरि २५ सांसद छन् । कुल मिलाएर राजपाका ७९ मतदाता हुनेछन् । संघीय समाजवादी फोरमका स्थानीय तहमा ४९ मतदाता छन् । प्रदेशमा प्रत्यक्ष निर्वाचित १९ र समानुपातिक ९ गरी २८ सांसद छन् ।
कुल मिलाएर फोरमका ७७ मतदाता छन् । मधेशवादी दलको गठबन्धन बनाएर चुनावमा जाँदा यो गठबन्धनको पक्षमा २ नम्बर प्रदेशमा १५६ मतदाता हुनेछन् । यहाँ पनि मधेशवादी गठबन्धन र बामपन्थी गठबन्धनको प्रतिस्पर्धामा कांग्रेसले कुनै सिट नपाउन सक्छ ।
प्रदेश नम्बर ३ः
प्रदेश नम्बर ३ मा स्थानीय तह र प्रदेशसभा दुवै ठाउँमा एमालेको एकल बहुमत छ । वामपन्थी गठबन्धन हुँदा कांग्रेस निकै पछि पर्नेछ । ३ नम्बर प्रदेशबाट स्थानीय तहका प्रमुख र उपप्रमुख गरि एमालेका १३५ मतदाता छन् । त्यस्तै प्रदेशसभातर्फ प्रत्यक्ष निर्वाचित ४२ र समानुपातिक १६ गरि एमालेका ५८ मतदाता हुनेछन् ।
एमालेका कुल मतदाता १९३ हुनेछन् । त्यस्तै माओवादीबाट स्थानीय तहका २६ र प्रदेशसभामा २३ गरी कुल ४८ जना मतदाता छन् । कुल मिलाएर यो प्रदेशबाट वामपन्थी गठबन्धनका २४१ मतदाता हुनेछन् ।
त्यस्तै कांग्रेसका स्थानीय तहका ६२ मतदाता छन् । प्रदेशसभातर्फ प्रत्यक्ष निर्वाचित ७ र समानुपातिक १४ गरि २१ सांसद छन् । कांग्रेसको कुल मतदाता संख्या ८३ हुनेछ । यो प्रदेशबाट विवेकशील, राप्रपा, नयाँ शक्तिका पनि केही मतदाता छन्, जुन निणर्ायक संख्या होइन ।
प्रदेश नम्बर ४ः
प्रदेश नम्बर ४ मा एमाले र कांग्रेसका मतदाता संख्या लगभग बराबरी देखिएको छ । एमालेका स्थानीय तहका ७१ मतदाता छन् । प्रदेशसभातर्फ प्रत्यक्ष निर्वाचित १७ र समानुपातिक १० गरि २७ सांसद छन् । कुल मिलाएर यो प्रदेशमा एमालेका ९८ जना मतदाता छन् ।
माओवादीका स्थायी तहका १२ मात्र मतदाता छन् । प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ९ र समानुपातिक ८ गरि १७ मतदाता छन् । माओवादीका कुल २९ मतदाता र एमालेका ९८ मिलाउँदा वामपन्थी गठबन्धनको पक्षमा १२७ मत हुनेछ ।
नेपाली कांग्रेसका स्थानीय तहका ८१ मतदाता छन् । प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ६ र समानुपातिक ९ गरि १५ सांसद छन् । कांग्रेसको कुल मिलाएर ९६ मत हुने यो प्रदेशसमा एकल संक्रमणीयबाट कांग्रेसले एक वा दुई सिट जित्न सक्छ । यस प्रदेशबाट राष्ट्रिय जनमोर्चा र नयाँ शक्तिको पनि केही मतदाता छन् ।
प्रदेश नम्बर ५ः
प्रदेश नम्बर ५ मा स्थानीय तहका प्रमुख र उपप्रमुख गरि एमालेका ९१ मतदाता छन् । त्यस्तै प्रदेशसभातर्फ प्रत्यक्ष निर्वाचित २७ र समानुपातिक १३ समेत ४० जना सांसद छन् । कुल मिलाएर यो प्रदेशबाट एमालेका १३१ मतदाता हुनेछन् ।
त्यस्तै माओवादीका स्थानीय तहबाट ३७ जना मतदाता छन् भने प्रदेशसभातर्फ प्रत्यक्ष निर्वाचित १५ र समानुपातिकबाट ६ जना गरि २१ सांसद छन् । माओवादीको कुल मतदाता संख्या ५८ रहेको छ । यसरी ५ नम्बर प्रदेशमा बामपन्थी गठबन्धनका १८९ मतदाता छन् ।
नेपाली कांग्रेसका स्थानीय तहका प्रमुख र उपप्रमुख गरि ६८ मतदाता छन् ।
प्रदेशसभातर्फ प्रत्यक्ष निर्वाचित ७ र समानुपातिक १२ सहित १९ सांसद छन् । कांग्रेसको कुल मतदाता संख्या ८७ हुनेछ । यो प्रदेशबाट संघीय समाजवादी फोरमको पनि १२ मत हुनेछ । स्थानीय तहका १६ र प्रदेशसभाका ४ गरि फोरमका १६ मतदाता छन् ।
यो प्रदेशसबाट राजपा,राजमो र नयाँ शक्तिका पनि केही मत छन् । तर ती निणर्ायक हुने अवस्था छैन ।
प्रदेश नम्बर ६ः
प्रदेश नम्बर ६ मा एमालेको एकल बहुमत छ । स्थानीय तहमा एमालेका ५९ मतदाता छन् भने प्रदेशसभामा २० मतदाता छन् । कुल मिलाएर एमालेको ७९ मत छ । माओवादीको स्थानीय तहमा ५४ र प्रदेशसभामा १३गरि ६७ मत जोड्दा वामपन्थी गठबन्धनको दुई तिहाई बहुमत हुनेछ ।
यो प्रदेशबाट कांग्रेसका स्थानीय तहबाट ४२ मतदाता छन् भने प्रदेशसभाबाट ६ मत जोड्दा ४८ मात्र हुन्छ । यो प्रदेशबाट राष्ट्रियसभामा कांग्रेसको प्रतिनिधित्व हुने सम्भावना कम छ ।
प्रदेश नम्बर ७ः
७ नम्बर प्रदेशमा एमालेका स्थानीय तहमा ८३ मतदाता छन् । प्रदेशसभामा प्रत्यक्ष निर्वाचित १७ र समानुपातिक ८ गरी एमालेका २५ मतदाता छन् । कुल मिलाएर एमालेका १०८ मतदाता हुनेछन् । माओवादीका स्थानीय तहमा १९ र प्रदेशसभामा १९ गरि ३८ मतदाता छन् । वामपन्थी गठबन्धनको यहाँ पनि बहुमत हुनेछ ।
कांग्रेसका स्थानीय तहमा ७४ मतदाता छन् भने प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ४ र समानुपातिक ८ गरी १२ जना मतदाता छन् । कांग्रेसको मत कुल मिलाएर ८६ हुनेछ । यहाँ कांग्रेसले एकल संक्रमणीयबाट एक दुई सिट जित्न सक्छ ।