
विराटनगर । देशका तराई भूभागमा गर्मीको प्रभाव झन् बढ्दै गएको छ । जल तथा मौसम विज्ञान विभागले बुधबार जारी गरेको मौसम पूर्वानुमान अनुसार तराईका अधिकांश जिल्लामा अत्यधिक गर्मीका कारण ‘तातो दिन’ को अवस्था रहनेछ भने पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ ।
विभागका अनुसार आज देशकै उच्च तापक्रम भैरहवामा मापन हुने अनुमान गरिएको छ । भैरहवाको अधिकतम तापक्रम ३८ देखि ४० डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ। आकाशमा आंशिक बादल लाग्ने भए पनि गर्मीको प्रभाव भने कम नहुने बताइएको छ ।
धनगढी र जनकपुरमा तापक्रम ३७ देखि ३९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । यस्तै नेपालगञ्ज, सिमरा र विराटनगरमा ३६ देखि ३८ डिग्री सेल्सियससम्म तापक्रम पुग्नेछ । यी क्षेत्रमा दिनभरि उखरमाउलो गर्मी महसुस हुने विभागको भनाइ छ ।
यता पहाडी तथा हिमाली क्षेत्रका विभिन्न स्थानमा भने मौसम केही बदली रहनेछ । डडेलधुरा, दिपायल, वीरेन्द्रनगर, जुम्ला, काठमाडौं, ओखलढुङ्गा, जोमसोम र जिरीमा हल्का वर्षाको सम्भावना रहेको छ । पोखरा, धनकुटा र ताप्लेजुङमा भने मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
ताप्लेजुङमा वर्षाको सम्भावना सबैभन्दा बढी ४० प्रतिशत रहेको छ भने अन्य वर्षा हुने क्षेत्रहरूमा २० देखि ३० प्रतिशतसम्म सम्भावना रहेको विभागले जनाएको छ ।
संघीय राजधानी काठमाडौंमा आज अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ । यहाँ २० प्रतिशत वर्षाको सम्भावना रहेको छ । दाङको घोराहीमा आंशिक बदली रहनेछ भने धरान क्षेत्रमा मौसम मुख्यतः सफा रहने पूर्वानुमान छ ।
रातिको समयमा पनि तराईका अधिकांश क्षेत्रमा गर्मी कायम रहने देखिएको छ । भैरहवा, विराटनगर लगायतका सहरमा न्यूनतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियसको हाराहारीमा रहने भएकाले राति पनि गर्मीको अनुभूति हुने विभागले जनाएको छ ।
जुम्ला, पोखरा, जोमसोम, जिरी, ताप्लेजुङ तथा विराटनगरका केही क्षेत्रमा राति पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा जारी रहने सम्भावना रहेको छ । जुम्ला र जोमसोममा भने न्यूनतम तापक्रम ९ देखि ११ डिग्री सेल्सियससम्म झर्ने अनुमान गरिएको छ ।
विभागले अत्यधिक गर्मी हुने तराईका जिल्लाका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन, पर्याप्त पानी पिउन तथा दिउँसोको समयमा अनावश्यक रूपमा घाममा ननिस्कन आग्रह गरेको छ ।

संगालोखबर 

















