धरान, २७ पुस । पूर्वको ऐतिहासिक स्थलका रूपमा रहेको विजयपुरमा विजयपुर स्मारक अनावरण गरिएको छ । पाँच वर्षअगाडि तोडफोड गरिएको स्मारकको मर्मतपश्चात पुनः अनावरण गरिएको हो । लिम्बु विद्यार्थी मञ्चको अगुवाईमा स्थापना गरिएको स्मारक क्षतविक्षत भएपछि अलपत्र अवस्थामा रहेको थियो । बिहीबार एक कार्यक्रमका बीच स्तम्भको पुनः अनावरण गर्दै नेपाल आदिवासी जनजाति महासङ्घ धरानका अध्यक्ष सुवासचन्द्र हुक्पा चोङवाङले भने, ‘विकासका नाममा अतिक्रमित भइरहेको ऐतिहासिक स्थलमा स्मारक खडा हुनु अर्थपूर्ण छ ।’

Advertisement

उनले हाल एडीबीको खानेपानी परियोजनाका कारण विजयपुर क्षेत्र अतिक्रमणमा परेकोतर्फ सङ्केत गर्दै मञ्चको कामले खबरदारी गरिरहेकोमा खुसी प्रकट गरे । अध्यक्ष चोङवाङले भने, ‘सर्वोच्च अदालतको परमादेश जारी भइसकेको अवस्थामा पुरातात्विक स्थलमा कुनै पनि विकास निर्माणका काम अघि बढेमा हामी चुप बस्ने छैनौं ।’

अदालतले गत कात्तिक ८ गते विजयपुर क्षेत्रमा कुनै पनि निर्माण कार्य नथाल्न परमादेश जारी गरेको थियो । एकीकृत सहरी विकास परियोजना अन्तर्गत एसियाली विकास बैंकको ऋण तथा अनुदानमा धरानमा खानेपानी परियोजना सञ्चालन हुन लागिरहेको छ । सोही क्रममा अहिले परियोजनाले धरान–१४ स्थित विजयपुर दरबार क्षेत्रमा खानेपानी ट्याङकी निर्माण गर्ने तयारी गरेपछि विवाद उत्पन्न भएको थियो ।

 यसैगरी, लिम्बु विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष फिपराज बेघाले लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुर रहेकाले पहिचान नामेट हुने कार्य आपूmहरूलाई मान्य नहुने जिकीर गरे । ‘गोरखाली शासक पृथ्वीनारायण शाहले समेत जित्न नसकेको भूगोल लिम्बुवानको राजधानी विजयपुर पहिचान विरोधी गतिविधि नगर्न हामी सचेत पार्न चाहन्छौं’ उनले भने ।

उनले स्मारक पश्चात मञ्चले विजयपुर दरबार क्षेत्रको बृहत विकास परियोजनाका लागि विश्व सम्पदा सूचीमा राख्न पहल थालिने समेत बताए । संयोगवश बिहीबारकै दिन पृथ्वी जयन्ती तथा एकता दिवस पनि परेको थियो । स्मरकको अनावरण मञ्च अध्यक्ष बेघासँगै महासङ्घ अध्यक्ष चोङवाङ, याक्थुङ चुम्लङकी केन्द्रीय उपाध्यक्ष चन्द्रमाया लिम्बु र सुनसरी अध्यक्ष मोहन हुक्पा चोङवाङले संयुक्त रूपमा गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!