अनलाइनखबर

 

Advertisement

काठमाडौं, २६ पुस । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले माघ २४ मा निर्वाचन गर्ने तय गरेपछि आयोगले कार्यतालिका बनाएको हो, जस अनुसार माघ १० गते उम्मेदवारी दर्ता गर्नु पर्नेछ । निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख एवं प्रदेशसभा सदस्य मतदाता हुनेछन् । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा १५०६ जना तथा प्रदेशसभाका ५५० सदस्य गरी कुल २,०५६ जना मतदाता छन् ।

प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ तोकिएको छ । स्थानीय तहका प्रमुख/उपप्रमुख र प्रदेशसभा सदस्यको मतबाट राष्ट्रियसभाका ५६ सदस्य निर्वाचित हुनेछन् । प्रत्येक प्रदेशबाट महिला र खुलाबाट ३/३ जना, दलित र अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट १/१ जना गरी ८ जना चुनिनेछन् ।

निर्वाचन आयोगले सात स्थानमा मतदान स्थल बनाउनेछ । उच्च अदालतको मुख्यालय जहाँ छ, त्यही मतदान केन्द्र रहने प्रवक्ता नवराज ढकालले जानकारी दिए । आयोगले उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा पुस २९ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय पनि गरेको छ ।

आयोगका अनुसार मतदान केन्द्रहरुमा माघ ७ गते मतदाता नामावली प्रकाशन गरिनेछ । त्यस्तै १० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ भने १५ गते उम्मेदवारहरुलाई निर्वाचन चिहृन प्रदान गरिनेछ । माघ २४ गते बिहान १० बजेदेखि अपराहृन ३ बजेसम्म मतदान हुनेछ । प्रत्येक प्रदेशमा मतदान हुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!