चितवन । नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान शनिबार मकवानपुरबाट चितवन प्रवेश गरेको छ । बिहान हेटौंडाको हुप्रचौरबाट अघि बढेको अभियान टोलीलाई राजमार्गका मनहरी लगायतका बजारमा स्थानीय एमाले कार्यकर्ता र समर्थकले स्वागत गरेका छन् ।

टोली चितवन प्रवेश गर्दा लोथरमा सोही क्षेत्रबाट निर्वाचित सांसद तथा एमाले नेता सुरेन्द्र पाण्डे, जिल्ला अध्यक्ष कृष्णभक्ता पोखरेलसहितका नेता कार्यकर्ताले स्वागत गरेका थिए । लोथरबाट अघि बढेको एमालेको र्‍यालीले करीव १२ किलोमिटर राजमार्ग ओगटेको प्रहरीले जनाएको छ ।

Advertisement

एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार हेटौंडामा कम्तिमा १० किलोमिटर राजमार्ग एमालेको अभियानका गाडी,मोटरसाइकल र अन्य सवारी साधनले ढाक्नुपर्ने निर्देशन दिएबमोजिम एक घर एक साधनका हिसाबले चितवनबाट सहभागी जुटेको एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाले अनलाइनखबरलाई बताए ।

एमालेको अभियान चितवन प्रवेश गरेपछि राजमार्ग क्षेत्रमा ुएक घर एक घडाु थापेर स्थानीयले स्वागत गरेका छन् । प्रत्येक घरबाट मोटरसाइकल र सवारी साधनसहित मानिसहरु अभियानमा थपिँदा एमालेको र्‍यालीमा दश हजार भन्दा बढीको सहभागिता रहेको थापाको दाबी छ ।

र्‍यालीको नेतृत्व एमाले नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, ईश्वर पोखरेल लगायतले गरेका छन् । अध्यक्ष ओली भने भरतपुरमा छन् ।

भण्डारा हुँदै नारायणी नदी किनारामा पुगेर जनसभा हुने एमाले प्रचार विभागका सचिव बिष्णु रिजालले बताए ।
नारायणगढको जनसभापछि सबैभन्दा ठूलो आमसभा नवलपरासीको कावासोतीमा तयारी भइरहेको एमालेका ४ नम्बर प्रदेश संयोजक किरण गुरुङले बताए । कावासोतीमा ५० हजार मान्छेको सहभागितामा मेची महाकाली अभियानको सभा हुने उनले बताए ।

अभियान टोली चितवन प्रवेश गरेपछि स्थानीय थारु गुरुङ मगर समुदायले आ आफ्ना सांस्कृतिक झाँकी सहित नाचगान गरेर स्वागत गरेका छन् । अभियानमा अहिलेसम्मकै सबैभन्दा ठूलो जनसहभागिता चितवनमा देखिएको थापाले बताए ।

फागुन २१ देखि झापाबाट सुरु भएको एमालेको अभियान २३ गते सप्तरीमा भएको झडपपछि तीन दिनका लागि रोकिएको थियो । कञ्चनपुरसम्म पुग्ने यो अभियान शुक्रबार मकवानपुरदेखि पुनः सुरु भएको छ । दुई नम्बर प्रदेशमा भने अभियान रोकिएको एमालेले जनाएको छ । अनलाईनखबर

केही तस्वीरहरू

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!