संगालोखबर संवाददाता

धनगढी, २४ पुस । संकटा क्लब आइतबार धरान फुटबललाई ‘सडेन डेथ’मा ५–४ ले पराजित गर्दै सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । दुवै क्लबले निर्धारित समय गोलरहित बराबरी खेलेका थिए । त्यसपछि खेलको छिनोफानो टाइब्रेकरबाट भयो । धरानले खेलको २६औँ मिनेटमा पाएको पेनाल्टी गोलमा परिणत गर्न चुकाएको थियो । धरानका प्रकाश बुढाथोकीले प्रहार गरेको पेनाल्टीको संकटाका गोलरक्षक विनय श्रेष्ठले बचाउ गरेका थिए ।

Advertisement

गोलरक्षकद्वारा दुई बचाउ
म्यान अफ द म्याच संकटाका गोलरक्षक श्रेष्ठले खेलमा उत्कृष्ट प्रदर्शन गरे । निर्धारित समयमा उनले एक पेनाल्टी रोक्दा संकटाको आत्मविश्वास बढेको थियो । पेनाल्टी सुटआउटमा समेत उनले धरानका दुई खेलाडीको प्रहारलाई असफल पारे । पेनाल्टी सुटआउटको पहिलो पाँचमा दुवै क्लबले ३–३ गोल गरे । त्यसपछि रेफ्रीले दुवै क्लबलाई दुई–दुईपटक पेनाल्टी प्रहार गर्न दिए । संकटाले दुवैपटक गोल गर्‍यो । गोलरक्षक श्रेष्ठले धरानको एक प्रहारलाई विफल पार्दै आफ्नो क्लबलाई अन्तिम आठमा पुर्‍याए ।

पेनाल्टी सुटमा पाँच खेलाडी चुके
पेनाल्टी सुउआउटमा संकटाका अनिल गुरुङ, विश्व अधिकारी, सरोज दाहाल, सुजित थापा र अभिशेष रिजालले गोल गरेका थिए । सुशील लामा र भुस सुब्बाको प्रहार धरानका गोलरक्षक रोशन खड्काले बचाए । धरानका लागि वर्तमान राई, रोमन लिम्बू, सुरज विक र प्रकाश बुढाथोकीले गोल गरे । सञ्जय राई र रोशन खड्काको प्रहार संकटाका गोलरक्षक श्रेष्ठले बचाए । धरानका सुबोस शाहीको प्रहार आउट भयो । शाहीले प्रहार गरेको बल गोलपोस्टभन्दा माथि गएको थियो ।

पहिलो हाफमा दबाब
जितपछि संकटाका प्रशिक्षक सल्यान खड्गीले पहिलो हाफमा आफ्नो टोली दबाबमा परेको बताए । उनले लामो यात्राका कारण खेलाडी थकित भएकाले पहिलो हाफमा सोचेजस्तो प्रदर्शन नभएको बताए । ‘लामो यात्रा गर्दा खेल्न केही समस्या भए पनि दोस्रो हाफमा राम्रो खेल्न सकियो,’ खड्गीले भने । धरानका प्रशिक्षक अशोक राईले सोचेअनुसारकै खेलेको तर मैदानबारे जानकारी नभएकाले नतिजा आफ्नो पक्षमा आउन नसकेको बताए । प्रतियोगितामा सोमबार थ्रिस्टारले झापा ११ को सामना गर्नेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement