
मोरङ, २३ पुस। जाडो अत्याधिक बढेपछि मोरङका सबै सामुदायिक विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ । जिल्ला शिक्षा समिति मोरङको २३ पुसमा बसेको आकस्मिक बैठकले जाडोले गर्दा विद्यालयमा पठनपाठन गर्न आउने बिद्यार्थीहरुलाई सकस परेको भन्दै २८ पुस सम्मका लागि सबै सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
२९ गते शनिबार भएकाले आइतबार देखि मात्र विद्यालय खुल्ने भएको छ । केही दिन यता अत्यधिक बढेको चिसोले बिद्यालयको पठनपाठन प्रभावित भएको गुनासो विद्यालय व्यवस्थापन समिति, स्रोत केन्द्र, पेशागत संघसंस्था सबै तिरबाट आएकोले आपसी समन्वय गरी हिउँदे, बर्षे बिदामा कट्टा हुने गरी २४ देखि २८ पुस सम्म जिल्लाका सबै विद्यालय बन्द गर्ने निर्णय भएको शिक्षा अधिकारी दिलनाथ पुरीले जानकारी दिएका छन् ।
चिसोकै कारण मोरङका सामुदायिक कलेजहरुले १५ पुसदेखि १ माघ सम्मका लागि पठनपाठन बन्द गरिसकेका छन् । निजी विद्यालयहरुले पठनपाठन बन्द गराउँदा केहीले भने परीक्षाको कारण देखाउँदै बिद्यालय संचालन गरिरहेका छन् ।
पहिले नै परीक्षाको रुटिङ निर्धारण भएकोले औपचारिक निर्णय नगरी परीक्षा सकाएर जाडोलाई ख्याल गरेर आफैँले विद्यालय बन्द गराउन थालेको नीजि बिद्यालय अर्गनाइजेसन (प्याव्सन) मोरङका अध्यक्ष सुनिल पौडेलले बताए । जिल्ला शिक्षा कार्यालय मोरङका अनुसार जिल्लामा ५ सय ९६ सामुदायिक र करिब चार सय संस्थागत विद्यालय रहेका छन् ।





















