
काभ्रे- काभ्रेको तीन ग्यास उद्योगमा सिल लगाइएको छ । शुक्रबार गुणस्तर तथा नाप तौल विभागका निर्देशक मनोजकुमार उपाध्यायको नेतृत्वमा आएको टोलीले अनुगमन गरेको थियो । अनुगमनका क्रममा सगरमाथा, सूर्य र चण्डेश्वरी ग्यास उद्योग मापदण्ड विपरित रहेको पाइएकाले विक्रिवितरणमा राेक लगाइएकाे निर्देशक उपाध्यायले जानकारी दिए ।
कुन ग्यास उद्योगमा के भेटियो ?
सगरमाथा ग्यासले नेपाल गुणस्तर प्रमाण चिन्ह लिनको लागि फारम भरेको तर चिन्ह प्राप्त नगरेको पाइएको निर्देशक उपाध्यायले बताए । ‘सगरमाथा बाहेक अरु ग्यास उद्योगले नेपाल गुणस्तर चिन्ह लिनको लागि फारमसमेत भरेका छैनन् ।’ उपाध्यायले भने, ‘अब ति ग्यास उद्योगहरुले भरिसकेको सिलिण्डर बाहेक अन्य सिलिण्डरहरुमा ग्यास भर्न र उत्पादन एवं विक्रीवितरण गर्न रोक लगाएका छाैँ ।’
के छ निर्देशन ?
सरकरले एनएस ५३३ अनिवार्य गुणस्तर प्रामाण तोकेको छ । ग्यास उद्योगीले अनिवार्य रुपमा एनएस प्रमाण लिनुपर्छ । उक्त उद्योग सञ्चालकहरुलाई तीन दिन भित्र विभागमा आएर एनएस प्रमाण चिन्ह लिन आग्रह गरेकाे निर्देशक उपाध्याय जानकारी दिए ।
अनुगमनमा पाइयो के ?
सरकारले २०७३ साल कात्तिक २९ गते राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार तीन महिना भित्रमा एनएस प्रमाण चिन्ह लिनुपर्ने थियो । तर, उक्त ग्यास उद्योगहरुले प्रक्रिया पुरा गरेको पाइएन । केही उद्योगी व्यवसायीले ‘सेफ्टी भल्व’समेत आफैले मर्मत गरेर बजारमा पठाइको पाइएको अनुगमन टोलीले जानकारी दिएको छ ।
के भन्छन्, उद्योग सञ्चालक ?
सगरमाथा ग्यास उद्योगका सञ्चालक अमृत अग्रवालले एकैचोटी ग्यास उद्योग बन्दा गर्दा उद्योगी र ग्राहकलाई समेत मर्का पर्ने बताए । उनले मापदण्डलाई पूरा गर्नका लागि केही समय दिनसमेत माग गरे । अग्रवालले भने,‘एक्कासी उद्योगहरु बन्द गर्दा उद्योगी र उपभोक्ताहरु समस्या पर्छ, सरकारले यस विषयमा ध्यान दिनु जरुरी छ ।’
को–कसले कुन ग्यास सञ्चालन गर्छन् ?
काभ्रेको बनेपा नगरपालिका–१० थापा गाउँमा रहेको छ सगरमाथा ग्यास उद्योग । सो ग्यासको सञ्चालनक हुन् अमृत अग्रवाल । त्यस्तै, सूर्य ग्यास र चण्डेश्वरी ग्याँस क्रमशः सुधिर पलाञ्चोके र विष्णुहरी कक्षपति सञ्चालक रहेका छन् ।
काभ्रेमा उग्रचण्डी ग्यास उद्योग र हिमाल ग्यास उद्योग पनि रहेको छ । तिनीहरुले पनि नेपाल गुणस्तर प्रमाण चिन्ह नलिएको पाइएको छ । चिन्ह प्राप्त नगरेकै कारण अब काभ्रेमा सञ्चालनमा ल्याएका सबै ग्यास उद्योगीले ग्यास उत्पादन तथा विक्री वितरण गर्न नपाउने भएका छन् ।















