डडेल्धुरा, २१ पुस। प्रदेशको राजधानीको माग राखी प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पनि आन्दोलन सुरु भएको छ । प्रदेश नम्बर ७ को राजधानी डडेल्धुरामा हुनु पर्ने माग राखी उद्योग व्यवसायी तथा स्थानीयहरुले दिउँसो १२ बजे देखि ३ बजेसम्म मुख्य राजमार्गहरुका यातायात बन्द गरे । सरकारले ७ नम्बर प्रदेशको राजधानी कैललालीको धनगढीलाई बनाउने आन्तरिक गृहकार्य गरिरहेको छ ।
तर, सूदूरपश्चिमको मुख्य प्रवेशद्वार डडेल्धुरा भएकाले राजधानी पनि त्यहीँ कायम गर्नुपर्ने जिल्लाबासी तथा उद्योग वाणिज्य संघको माग छ । भौगोलिक दृष्टिकोण, संरचना तथा पूर्वाधार, मुख्य प्रवेशद्वार लगायतका हिसावले पनि डडेलधुरा नै प्रादेशिक राजधानी बनाउन उपयुक्त भएको उद्योग बाणिज्य संघ डडेल्धुराका प्रथम उपाध्यक्ष भोजराज भट्टले बताए ।
उनले डडेल्धुरालाई प्रादेशिक राजधानी घोषणा नगरेसम्म आन्दोलनका कार्यक्रम निरन्तर राख्ने बताए ।यातायात बन्दका कारण सुदूरपहाडको जनजीवन कष्टकर बन्न पुगेको छ । डडेल्धुराबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका यातायात साधहरु कैलाली र कञ्चनपुरबाट पहाडी जिल्ला बैतडी, बझाङ्ग, दार्चुला, डोटी, अछाम र बाजुराका लागि छुटेका यात्रुबहाक तथा मालबाक गडीहरु बन्दको सास्ती व्यहोर्न बाध्य भए । शनिबार विहानदेखि डडेल्धुरा जिल्लमा यातायात, बजार पसल बन्द गर्नै उद्योग वाणिज्य संघ डडेल्धुराले जनाएको छ ।